ललितपुर – महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोग तथा ललितपुर हस्तकला संघ र कला तथा शिल्प विकास समितिद्वारा सञ्चालन गरिएको खेर गएका सिसाका बोतललाई पुनःप्रयोग गरी उपहारजन्य सामग्री उत्पादनसम्बन्धी १० दिने सीपमूलक तालिम सम्पन्न भएको छ । समापन कार्यक्रममा उपमेयर लक्ष्मी महर्जनले तालिमको सफलता प्रमाणपत्रमा नभई आम्दानी र आत्मनिर्भरतामा देखिनुपर्ने बताइन् । उनले सीपलाई उत्पादन, उद्यमशीलता र आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिँदै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरिन् । उनका अनुसार सिसाका बोतललाई कलात्मक सामग्रीमा रूपान्तरण गर्ने अभ्यासले वातावरण संरक्षणसँगै आर्थिक अवसर पनि सिर्जना गर्छ। उनले गुणस्तर, ब्रान्डिङ र बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै तालिमपछि पनि सहभागीलाई व्यवसाय सञ्चालन र बजार पहुँचमा सहयोग आवश्यक रहेको बताइन् । कार्यक्रममा सहभागीहरूले १० दिनमा तयार गरेका कलात्मक सामग्रीको प्रदर्शनी गरिएको थियो भने सफल प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागीहरूले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्दै स्वरोजगार सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्