Skip to content

ट्रम्पले होर्मुज जलडमरूमध्यको नक्सा सार्वजनिक गर्दै भने– ‘अमेरिकाको नयाँ क्षेत्र’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यको नक्सा सामाजिक सञ्जालमा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ क्षेत्र’ भनेर उल्लेख गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा होर्मुज जलडमरूमध्यलाई घेराले देखाइएको नक्सा पोस्ट गरेका हुन्। नक्साको माथि ‘अमेरिकाको नयाँ क्षेत्र’ लेखिएको छ । यो पोस्ट ट्रम्पले शुक्रबार एक चुनावी र्‍यालीमा दिएको अभिव्यक्तिपछि आएको हो। र्‍यालीमा उनले ‘म अब होर्मुज जलडमरूमध्यलाई अमेरिकाको क्षेत्र घोषणा गर्छु’ भनेका थिए।

ट्रम्पको पछिल्लो अभिव्यक्ति र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको नक्सा अमेरिका र इरानबीच होर्मुज जलडमरूमध्यलाई लिएर तनाव बढिरहेका बेला आएको हो ।

किन महत्वपूर्ण छ होर्मुज जलडमरूमध्य ?

होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय महत्त्वको प्रमुख समुद्री मार्ग हो। यसको एकतर्फ इरान र अर्कोतर्फ ओमान पर्दछन्। खाडी क्षेत्रका मुलुकबाट ठूलो परिमाणमा तेल तथा ग्यास विश्वका विभिन्न मुलुकसम्म पुर्‍याउन यही समुद्री मार्ग प्रयोग हुँदै आएको छ । पछिल्लो समय अमेरिका–इरान तनावका कारण होर्मुज जलडमरूमार्फत हुने तेल ट्यांकर तथा अन्य व्यापारिक पानीजहाजको आवागमनमा समेत उल्लेख्य कमी आएको बताइएको छ । ट्रम्पले होर्मुजलाई अमेरिकी क्षेत्र घोषणा गर्ने अभिव्यक्ति दिएपछि यसले अन्तर्राष्ट्रिय समुद्री मार्ग, ऊर्जा आपूर्ति र अमेरिका–इरान सम्बन्धमा थप तनाव उत्पन्न गर्न सक्ने विषयमा चासो बढेको छ । होर्मुज जलडमरूमध्य विश्वको ऊर्जा आपूर्तिका लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ। त्यसैले यस क्षेत्रमा उत्पन्न हुने कुनै पनि तनावले अन्तर्राष्ट्रिय बजारमा तेल तथा ग्यासको आपूर्ति र मूल्यमा समेत असर पार्न सक्छ।

प्रतिक्रिया दिनुहोस्