Skip to content

महाधिवेशन विवाद चुलिँदा सहमहामन्त्री चलाउनेको सुझाव – ‘गुटगत भेला होइन, महासमिति बैठकबाटै निर्णय गरौँ’

काठमाडौँ — नेपाली कांग्रेसभित्र महाधिवेशनको समय–सीमा र आन्तरिक विवादबारे चलिरहेको चर्चाकाबीच अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर समेत रेहकी  सुदूरपश्चिम प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेले नेतृत्वलाई ‘गुटगत भेला र आरोप–प्रत्यारोप’ भन्दा संस्थागत प्रक्रियाबाट समाधान खोज्न आग्रह गरेकी छन्।  पछिल्लो समय नियमित कि विशेष महाधिवेशन भन्ने बहसले संगठनभित्र तनाब बढिरहेका बेला उनले महासमिति बैठक नै सर्वोत्तम निर्णयस्थल भएको जिकिर गरिन्।
चलाउनेका अनुसार, एकताबद्ध कांग्रेसले मात्र आगामी चुनावमा विश्वसनीयता कायम गर्न सक्छ, त्यसैले टिम–टिमका भेला गरेर नेतृत्वमाथि असन्तोष पोख्नु उचित होइन। उनले सभापति शेरबहादुर देउवामाथि असन्तोषले मात्रै समस्या नसम्हालिने भन्दै पार्टीभित्रै निर्णय क्षमता उनलाई नै दिएको संरचना भएकाले संस्थागत निर्णय नै सर्वोपरि हुने बताइन्। ‘विश्वास गरौँ, आजको बैठकले सर्वसम्मत निर्णय ल्याएर पार्टीलाई एकढिक्का बनाउन सक्छ,’ चलाउनेको भनाइ छ। सहमहामन्त्री चलाउनेले केन्द्रिय समितिलाई ‘अनिर्णयको बन्दी’ बनाउनु नहुने स्पष्ट गर्दै चुनाव अघि महाधिवेशन गर्ने स्पष्ट कार्यतालिका आउनु पार्टीका लागि अनुकूल हुने टिप्पणी गरिन्। उनले पार्टीभित्र विचार र सिद्धान्तभन्दा पनि पद–प्रतिस्पर्धाले तनाब बढाएको उल्लेख गर्दै, “अधिवेशनले नयाँ नेतृत्व दिन सक्छ र नयाँ ऊर्जासहित कांग्रेस चुनावमा उत्रन सक्छ,” भनिन्। पार्टीभित्रको गतिरोध चिर्न चलाउनेको सुझाब संस्थागत प्रक्रियाको पक्षमा बलियो आवाजका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्