Skip to content

महाधिवेशन उद्घाटनमा ५० हजार बढी युवा उतार्ने युवा संघको दाबी

काठमाडौँ – नेकपा एमालेको महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौं उतार्ने दाबी गरेको छ ।  युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारीअनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरूको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा, जिल्ला, पालिका र प्रदेशहरू कमिटीहरूलाई अनिवार्य रूपमा युवाहरूको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ । थेबेका अनुसार काठमाडौं र ललितपुरका ६१ वटा वडाबाट १०० हजारका दरले ६ हजार १००,उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार, उपत्यका बाहेक बागमतीका १० वटा जिल्लाबाट १५०० सयका दरले १५००० जना युवाहरु जुटाउने युवा संघको तयारी छ। यसैगरी महाधिवेशनमा कोशी प्रदेशबाट ४ हजार, मधेसबाट ४ हजार, गण्डकी ३ हजार लुम्बिनीबाट २ हजार, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ५ सयका दरले एक हजार युवा जुटाउने युवा संघले जनाएको छ । ‘हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्छौं। यसका लागि हाम्रो संगठनका सबै कमिटीहरू परिचालन गरेका छौं,’ थेवेले भने । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्