काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको भागमा ४० जना समावेश गर्ने सहमति भएको छ । आइतबार बिहान रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच भएको छलफलमा यसबारे सहमति जुटेको हो । निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउने कार्यक्रम तय भएको छ । समानुपातिकतर्फ कुल ११० जनाको नाम बुझाउनुपर्ने प्रावधान अनुसार बालेन शाह पक्षबाट ४० जना र बाँकी ७० जना रास्वपाका उम्मेदवार समावेश गरिने सहमति भएको बताइएको छ ।
रास्वपा र बालेन शाहबीच आइतबार बिहान भएको ७ बुँदे सम्झौता पत्रमा यो विषय औपचारिक रूपमा उल्लेख नभए पनि यसबारे आपसी समझदारी भएको जनाइएको छ। समानुपातिकतर्फ बालेन शाहले प्रस्ताव गर्ने सूचीमा विभिन्न ‘जेन–जी’ समूहका अगुवा पनि समावेश हुने बताइएको छ । यसैबीच रास्वपाले समानुपातिक सांसद उम्मेदवार छनोटका लागि आन्तरिक मतदान प्रक्रिया अघि बढाइसकेको छ । पार्टीले लोकप्रिय मत प्राप्त गर्ने व्यक्तिलाई समानुपातिक सांसद उम्मेदवार बनाउने जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्