काठमाडौँ – नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको बन्दसूची टुंग्याउने क्रममा प्रदेशगत विवाद चर्किएपछि प्राविधिक सूची बोकेर मीन विश्वकर्मालाई निर्वाचन आयोग पठाइएको छ । कांग्रेसबाट टोकन लिएपछि रातिसम्म पनि बन्दसूची पेश गर्न सकिने भएकाले उनलाई आयोग पठाइएको हो । प्रदेशहरूबाट चाहिनेभन्दा बढी नाम आएर आ–आफ्नो अडान कायम रहेकाले अन्तिम सहमति भने भइनसकेको जनाइएको छ । पदाधिकारीतर्फ सहमहामन्त्री भिष्मराज आङ्देम्बेको नाम टुंगिएको छ । आदिवासी जनजातितर्फ पूर्वमन्त्री रोमी गौचन, सेतेमान तामाङ र गोपालमानसिंह राजभण्डारीको नाम बन्दसूचीमा परेको छ । महिलातर्फ उर्मिला थपलिया, प्रेमिका रानामगर, रुक्मिणी कोइराला, गोमा भट्टराई, देवकी गौतमलगायतको नाम समेटिएको छ । त्यस्तै चलचित्र निर्देशक मीन भाम पनि बन्दसूचीमा परेका छन् । पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान पनि कांग्रेसको समानुपातिक सूचीमा समेटिएका छन् । मधेश प्रदेशको समानुपातिक भागबण्डा विमलेन्द्र निधि, महेन्द्र यादव, फर्मुला मन्सुर, उमकान्त चौधरी र कृष्ण यादवबीच रहे पनि अन्तिम सहमति भने जुट्न सकेको छैन । यसैबीच, युवामुखी र समावेशी प्रतिनिधित्वको संकेतस्वरूप सोलुखुम्बुकी गीता गुरुङको नाम समानुपातिक बन्दसूचीमा समेटिनुलाई विशेष अर्थका रूपमा हेरिएको छ । युवापंक्तिमा सक्रिय भूमिका निभाउँदै आएकी गुरुङसँगै प्रेमिका रानामगर र सेतेमान तामाङको पनि नाम बन्दसूचीमा समेटिनुले कांग्रेसले आगामी दिनमा युवालाई प्राथमिकतामा राख्न खोजेको सन्देश दिएको विश्लेषण गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्