Skip to content

देउवाले भेट्न मानेनन् गगन र विश्वलाई

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग हुने भनिएको भेटघाट अन्तिम समयमा स्थगित गरेका छन्। अपराह्न ५ बजेका लागि तय गरिएको भेटघाटमा सहभागी हुन नसक्ने जानकारी देउवाले दिएपछि बैठक शुक्रबारका लागि सारिएको हो । महामन्त्रीद्वयसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समेत सहभागी गराएर छलफल गर्ने तयारी रहे पनि सभापति देउवाको व्यस्तताका कारण बैठक हुन सकेन। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवा अन्य काममा व्यस्त रहेकाले भेटघाट सम्भव भएन । मुख्यसचिव पौडेलले शुक्रबार सभापतिको अनुकूल समयमा महामन्त्रीद्वयलाई भेटका लागि बोलाइने जानकारी दिइएको बताए । उक्त जानकारी आफू वा सभापति देउवाका स्वकीय सचिव भानु देउवामार्फत गराइने जनाइएको छ । यसैबीच, महामन्त्रीद्वय थापा र शर्माको निर्देशनमा पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपस्थित हल बुक गरिएको छ। पार्टीभित्रका समसामयिक विषयमा छलफल गर्ने उद्देश्यले हल बुक गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्