काठमाडौं – नेपाली कांग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पार्टीको आगामी नियमित तथा आधिकारिक महाधिवेशनमार्फत महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसले सार्वजनिक गरेको महाधिवेशन तालिकालाई स्वागत गर्दै शेर्पाले अब पार्टीभित्र पूर्ण तयारीका साथ अघि बढ्ने समय आएको बताएका छन् । यो कुनै विशेष महाधिवेशन नभई पार्टी विधानअनुसार हुन लागेको नियमित र आधिकारिक महाधिवेशन भएको उल्लेख गर्दै उनले गाउँ–गाउँबाट प्रतिनिधिहरूको सक्रिय सहभागितामार्फत कांग्रेस संगठनलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
“अग्रजदेखि युवा पुस्तासम्म सबैको एकताबद्ध सहभागिताले मात्र नेपाली कांग्रेसलाई जनताको भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्न सकिन्छ,” शेर्पाले भनेका छन्। उनका अनुसार कांग्रेसलाई साँचो अर्थमा जनताको पार्टी बनाउने लक्ष्यसहित शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क तथा सर्वसुलभ बनाउने स्पष्ट एजेन्डासहितको नेतृत्व अहिलेको आवश्यकता हो । महाधिवेशनमार्फत सह–महामन्त्री तहसम्म मात्र सीमित नभई महामन्त्री र उपसभापति तहसम्म सक्षम, प्रतिबद्ध र दूरदर्शी नेतृत्व स्थापित हुनुपर्ने उनको धारणा छ । यही उद्देश्यका साथ आफूले महामन्त्री पदमा उम्मेदवारी प्रस्तुत गरेको शेर्पाले स्पष्ट पारेका छन् । उनले सबै पार्टी साथीहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठन निर्माण र पार्टी सुदृढीकरणमा एकताबद्ध हुन हार्दिक आग्रह गरेका छन् । निमा ग्याल्जेन शेर्पा हेलम्बु गाउँपालिकाका अध्यक्ष मात्र होइनन्, नेपाली कांग्रेसका सक्रिय महासमिति सदस्यसमेत हुन् । उनी यसअघि कांग्रेसबाट पहिलो संविधानसभाका लागि उम्मेदवार समेत बनेका अनुभवी नेता हुन् । उनको उम्मेदवारी घोषणाले कांग्रेसभित्र नयाँ ऊर्जा र बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्