काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुङ्गो आज लगाउने भएको छ । यसका लागि आज बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सिट बाँडफाँटको विषयमा नेकपा एमाले, माओवादी केन्द्रलगायत दलहरूसँग शीर्ष तहमा निरन्तर छलफल भइरहेको जानकारी दिएका छन् । राष्ट्रियसभामा सबैभन्दा बढी मतभार रहेको दलका रूपमा कांग्रेसले आफ्नो हैसियतअनुसारको प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन जित्ने आधार तयार गर्न अन्य राजनीतिक शक्तिहरूसँग सहकार्यको पहल गरेको हो । आजको बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट को–को उम्मेदवार बन्ने भन्ने विषयमा औपचारिक निर्णय हुने बताइएको छ । निर्वाचनमा निर्णायक मतभार रहेका सबै दलहरूसँग सहमतिको प्रयास जारी रहेकाले आजको बैठक निर्णायक हुने कांग्रेसले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्