Skip to content

भारत भ्रमणपछि प्रचण्ड आन्तरिक छलफलमा सक्रिय, राष्ट्रियसभा तालमेलमा सिट बाँडफाँटको गृहकार्य

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएलगत्तै पार्टीभित्र आन्तरिक छलफलमा व्यस्त भएका छन् । एकता सन्देश सभालाई सम्बोधन गर्न आइतबार नयाँदिल्ली गएका प्रचण्ड सोमबार राति स्वदेश फर्किएका थिए । दिल्ली बसाइका क्रममा उनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए । हिजो काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका शीर्ष नेताहरूसँग छलफलमा जुटेका छन् । उनको सचिवालयका अनुसार राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर आन्तरिक परामर्श भइरहेको छ । यसैक्रममा अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेटघाट र छलफल हुन सक्ने बताइएको छ ।

हाल राष्ट्रियसभामा तालमेल गर्ने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच शीर्ष तहमा निरन्तर संवाद भइरहेको छ । स्रोतका अनुसार तीन ठूला दलबीच एमाले र कांग्रेसलाई समान रूपमा ७/७ सिट र नेपाली कम्युनिष्ट पार्टीलाई ४ सिट दिने मोडेलमा अनौपचारिक छलफल अघि बढिरहेको छ । तर प्रचण्डले मधेश प्रदेशका केही साना दललाई समेत समेट्ने गरी मतभारका आधारमा सिट बाँडफाँट गर्नुपर्ने प्रस्ताव राख्दै आएका छन् । शीर्ष नेताहरूबीचको छलफलबारे जानकार स्रोतका अनुसार सम्मानजनक सिट बाँडफाँटमा सहमति जुटे राष्ट्रियसभामा संयुक्त रूपमा अघि बढ्न सकिने संकेत प्रचण्डले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्