काँग्रेस – नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने निश्चित भएसँगै त्यस पक्षधर नेताहरू तयारीमा जुटेका छन् । अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट नजिकै स्थापना गरिएको विशेष महाधिवेशन सचिवालयको समन्वयमा तयारी अघि बढाइएको छ । महाधिवेशन व्यवस्थापन अन्तर्गत स्वयंसेवक परिचालनदेखि मञ्च निर्माणसम्मका कामहरू चरणबद्ध रूपमा सुरू गरिँदै छन् । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाका अनुसार करिब एक हजार स्वयंसेवक परिचालन गरिनेछ । उनले भृकुटीमण्डपमा आजदेखि मञ्च निर्माणको काम सुरू हुने जानकारी दिए । विशेष महाधिवेशन नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको हो। यता, संस्थापन समूहले भने विशेष महाधिवेशनको काउन्टर रणनीतिस्वरूप युवा भेला र केन्द्रीय सदस्यहरूको भेला आह्वान गरेको छ ।
हाल विशेष महाधिवेशन सचिवालयमा विभिन्न समितिमा रहेका नेताहरू आ–आफ्नो जिम्मेवारीअनुसार तयारीमा जुटिरहेका छन्। यसैबीच केही नेता तथा कार्यकर्ता भृकुटीमण्डप परिसरमा समेत भेला हुन थालेका छन् । विशेष महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्रको राजनीतिक तापक्रम थप चर्किँदै गएको छ ।





प्रतिक्रिया दिनुहोस्