Skip to content

निष्पक्ष निर्वाचनका लागि सरकार सजग हुनुपर्छ, कुनै दल लक्षित नहोस् : मुख्यमन्त्री बाँनिया

काठमाडौँ – नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संघ र प्रदेश सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वय संविधानको मर्मअनुसार हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री बानियाँले निर्वाचन नजिकिँदै गर्दा सरकार कुनै पनि दललाई लक्षित गरी अघि बढ्न नहुने स्पष्ट पारे। सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा होमिइसकेको अवस्थामा सरकारले पनि निष्पक्ष, शान्त र भयमुक्त वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए । सरकारकै कारण निर्वाचन भड्किने अवस्था आउन नहुने उल्लेख गर्दै उनले यसतर्फ गृहमन्त्री र प्रधानमन्त्री विशेष रूपमा सजग हुनुपर्ने बताए ।

निर्वाचनलाई धाँधलीरहित बनाउँदै जनताको उत्साह र सहभागिता बढाउने वातावरण सिर्जना गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्री बानियाँको भनाइ थियो । प्रविधिको दुरुपयोग गरी निर्वाचन विथोल्ने र झुटा प्रचार फैलाउने प्रयास हुन सक्ने भएकाले सुरक्षा निकायले विशेष सतर्कता अपनाउनुपर्ने उनले आग्रह गरे । निर्वाचनको समय आइसकेकाले अब सबै लोकतन्त्रवादी शक्तिहरू निर्वाचनमा अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले गृह मन्त्रालयसँग सुरक्षाको विशेष व्यवस्था गर्न माग गरे । भ्रम र यथार्थको बीचमा जनताको विश्वास कायम गर्नु नै सबैभन्दा ठूलो चुनौती भएको बताउँदै लोकतन्त्रको सुरक्षा र सुदृढीकरणका लागि सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्