काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त हुनुभएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार प्रकट गर्नुभयो।
प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे पनि राजदूत दलेलासँग चासो राख्नुभएको थियो। जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक तथा महत्त्वपूर्ण हुने बताउनुभयो।
उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई थप उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायहरूबीच तीव्र रूपमा आवश्यक तयारी भइरहेको उल्लेख गर्नुभयो।
भेटवार्तामा नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा समेत छलफल भएको थियो।




प्रतिक्रिया दिनुहोस्