काठमाडौँ – चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका मोटरसाइकलविरुद्ध काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले कारबाही अभियान तीव्र बनाएको छ । पछिल्लो एक सातामा मात्रै प्रहरीले ४०५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । कम्पनीले जडान गरेको साइलेन्सर परिवर्तन गर्ने, डिबी किलर निकाल्ने तथा सिट, रङ, ह्यान्डल र लाइटिङ प्रणाली परिवर्तन गरी मोटरसाइकल चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
चर्को आवाजले वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई असर गर्नुका साथै विद्यार्थीको पढाइ र शान्त वातावरणमा समेत बाधा पुर्याउने गरेको छ । त्यस्तै, मोटरसाइकलको स्वरूप परिवर्तन गर्दा दुर्घटनाको जोखिमसमेत बढ्ने प्रहरीको भनाइ छ । नागरिकको गुनासो सम्बोधन, ध्वनि प्रदूषण नियन्त्रण तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । प्रहरीले वातावरण विभागसँग समन्वय गरी सवारीसाधनको यान्त्रिक परीक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी अनुगमनलाई समेत प्रभावकारी बनाउने जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार अनुमति नलिई सवारीसाधनको स्वरूप परिवर्तन गर्न पाइँदैन । प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ अनुसार नियमविपरीत स्वरूप परिवर्तन गरी सवारी चलाएमा सात हजारदेखि १५ हजार रुपियाँसम्म जरिबाना हुने व्यवस्था छ ।




प्रतिक्रिया दिनुहोस्