पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश कार्यसमितिको पदस्थापन तथा अन्तर्क्रिया कार्यक्रममा नेपालको पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाइएको पाइएको छ । पोखराको अमरसिंह चोकस्थित सफल ब्याङ्क्वेटमा सोमबार (कात्तिक ३० गते) आयोजित कार्यक्रममा राजतन्त्र कायम रहेको समयको राष्ट्रिय गान बजाइएपछि पार्टीभित्रै असन्तुष्टि र आलोचना सुरु भएको छ । कार्यक्रममा पूर्वमन्त्रीहरू कमल थापा, प्रकाशचन्द्र लोहनी र विक्रम पाण्डे तथा राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहितका नेताहरू सहभागी थिए । वि.सं. २०१८ मङ्सिर ३० गतेदेखि प्रचलनमा आएको ‘श्रीमान् गम्भीर नेपाली’ राष्ट्रिय गान लोकतान्त्रिक गणतन्त्र स्थापनापछि २०६३ जेठमा निलम्बन गरिएको थियो । त्यसपछि २०६४ साउन १८ गते ‘सयौँ थुँगा फूलका हामी’ लाई नेपालको नयाँ राष्ट्रिय गानका रूपमा लागू गरिएको हो । नेपालको संविधान २०७२ को अनुसूची २ मा समेत ‘सयौँ थुँगा फूलका हामी’ लाई राष्ट्रिय गानका रूपमा व्यवस्था गरिएको छ ।
संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल राप्रपाको औपचारिक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाइएपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ । पार्टीका एक पदाधिकारीले मन्त्री भइसकेका वरिष्ठ नेताहरूको उपस्थितिमा यस्तो गतिविधि हुनु दुःखद भएको टिप्पणी गरेका छन् । उनले भने, “कमल थापा, प्रकाशचन्द्र लोहनी र विक्रम पाण्डे पटकपटक राजकीय पदमा पुगिसक्नुभएका नेताहरू हुनुहुन्छ । ज्ञानेन्द्र शाही पनि दोस्रो पटक सांसद भइसकेको नेता हो । तर उहाँहरू नै सहभागी कार्यक्रममा यो उदण्डता किन रोक्न सक्नु भएन ? पार्टी अब यो छलफलको विषय बन्छ ।”
सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ जारी गरेको छ । उक्त कार्यविधिअनुसार प्रमुख जिल्ला अधिकारीले आफ्नो क्षेत्रभित्र राष्ट्रिय गानको प्रयोग निर्धारित व्यवस्थाअनुसार भए/नभएको अनुगमन गर्न सक्ने व्यवस्था छ । यस विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरुङले सम्बन्धित पार्टीसँग सोधखोज गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाइयो वा बजाइएन, बजाएको भए किन बजाइयो भनेर म सोधखोज गर्छु ।”
कार्यक्रममा सहभागी राप्रपा प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भने ‘श्रीमान् गम्भीर नेपाली’ पनि नेपालको राष्ट्रिय गान भएकाले बजाउन मिल्ने प्रतिक्रिया दिनुभएको छ । उहाँले राजसंस्थाको पक्षमा रहेको पार्टी भएकाले कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाइएको स्पष्ट पार्नुभयो । शाहीले भन्नुभयो, “अहिलेको राष्ट्रिय गानमा हाम्रो कुनै अपमान छैन । श्रीमान् गम्भीर नेपाली पनि पुरानो राष्ट्रिय गान नै हो । पहिला पहिला पनि अरू गान थिए होला । राजसंस्था चाहिन्छ भन्ने पार्टी राप्रपाको कार्यक्रम भएकाले श्रीमान् गम्भीर नेपाली राष्ट्रिय गान बजाएका हौँ ।” उहाँले वर्तमान राष्ट्रिय गानप्रति कुनै आपत्ति नरहेको उल्लेख गर्दै पार्टीका कार्यक्रममा पुरानो राष्ट्रिय गानसमेत बजाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “राजसंस्था चाहिन्छ भन्नेहरूको राष्ट्रिय गान त श्रीमान् गम्भीर नेपाली भन्ने नै हो नि ! तर नयाँ राष्ट्रिय गानमा हाम्रो कुनै आपत्ति छैन । पुरानो राष्ट्रिय गान पनि बजाउनुपर्छ किनभने राजाबिना यो देश हुन्न ।”
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले संवैधानिक राजसंस्थाको पुनःस्थापना र वैदिक सनातन हिन्दु राष्ट्रको घोषणालाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउँदै आएको छ । पार्टीले राष्ट्रिय एकताको अवधारणासँगै प्रदेश संरचना खारेजीको नीतिसमेत अघि सार्दै आएको छ । यसैबीच, पार्टीको औपचारिक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाइएको विषयले वर्तमान संवैधानिक व्यवस्था, राष्ट्रिय प्रतीकको प्रयोग र राप्रपाको राजनीतिक विचारधाराबारे नयाँ बहस सिर्जना गरेको छ ।




प्रतिक्रिया दिनुहोस्