Skip to content

कोप–३१ मा आकर्षणको केन्द्र बन्यो नेपाल मण्डप, जलवायु सङ्कट र हिमाली समस्याबारे विश्वको ध्यानाकर्षण

Nepal Bank

आन्तल्या – जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका समस्या, प्राकृतिक विपत्ति र त्यसले जनजीवनमा पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने नेपालको प्रयासले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ३१औँ संस्करण (कोप–३१) मा विशेष महत्व पाएको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी, हिमाल पग्लिने क्रम, हिमताल विस्फोट र त्यसबाट उत्पन्न प्राकृतिक विपत्तिबारे विश्व समुदायको चासो बढिरहेका बेला नेपालले सम्मेलनस्थल टर्किए (टर्की) को आन्तल्यामा नेपाल मण्डप (नेपाल पेभिलिएन) स्थापना गरेको हो ।

सम्मेलनको पेभिलिएन क्षेत्रमा विश्वका एक सयभन्दा बढी मुलुकले आआफ्ना देशका समस्या, सम्भावना र उपलब्धिबारे जानकारी दिन छुट्टाछुट्टै मण्डप स्थापना गरेका छन् । तीमध्ये नेपाल मण्डप विदेशी प्रतिनिधि, वैज्ञानिक, अनुसन्धानकर्ता र कूटनीतिज्ञको आकर्षणको केन्द्र बनेको छ ।

नेपाल मण्डपमा विभिन्न महादेशबाट आएका प्रतिनिधिहरूले नेपालको जलवायु सङ्कट, हिमाली क्षेत्रका चुनौती र सम्भावनाबारे जानकारी लिने तथा छलफल गर्ने गरेका छन् ।

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले नेपाल मण्डप नेपालको समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने र सम्भावनाबारे जानकारी गराउने साझा थलो बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो ठाउँ नेपालका बारेमा बुझाउने साझा थलो भएको छ । नेपालबारे जान्न र बुझ्न चाहने विदेशीका लागि गन्तव्यजस्तै बनेको छ ।”

दैनिक तीनदेखि छ वटा कार्यक्रम

कोप–३१ को औपचारिक उद्घाटन भएको दिनदेखि आठौँ दिनसम्म नेपाल मण्डपमा नेपालको अवस्थाबारे जानकारी लिन आउने विदेशी प्रतिनिधिको चहलपहल बढिरहेको छ ।

नेपाल मण्डपको व्यवस्थापनमा सक्रिय प्रकाश लामिछानेका अनुसार यहाँ दैनिक कम्तीमा तीनदेखि छ वटासम्म साइड इभेन्ट आयोजना भइरहेका छन् ।

विशेषगरी रसुवाको भोटेकोशीमा आएको बाढी, त्यसबाट भएको जनधनको क्षति, जलवायु परिवर्तनले हिमालदेखि तराईसम्मका आदिवासी जनजातिमा पारेको प्रभाव, हिमाली अर्थतन्त्र, नेपाली समाजको जीवनशैलीमा आएको परिवर्तन तथा आर्थिक, सामाजिक र सांस्कृतिक असरबारे छलफल हुने गरेको छ ।

त्यसैगरी जलवायु परिवर्तनले युवा पुस्तामा पारेको मनोवैज्ञानिक प्रभाव, विज्ञान तथा प्रविधिसम्बन्धी विषयमा समेत विज्ञहरूले विचार आदानप्रदान गरिरहेका छन् ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रका अनुसार नेपाल मण्डपमा भइरहेका छलफल र बहस वैज्ञानिक तथ्य तथा अध्ययनमा आधारित छन् ।

उहाँले भन्नुभयो, “नेपाल पेभिलिएन नेपालका बारेमा जान्न र सुन्न चाहने विदेशी वैज्ञानिक, अनुसन्धानकर्ता तथा कूटनीतिज्ञको भेटघाट हुने थलो बनेको छ । यस पटकको पेभिलिएन नेपाललाई चिन्ने र चिनाउने चौतारीजस्तै भएको छ ।”

विपत्तिबारे जानकारी गराउने र सहयोग जुटाउने अवसर

सम्मेलनमा सहभागी गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले गत भदौमा नेपालमा भएको प्राकृतिक विपत्तिबारे जानकारी लिन चाहने तथा हिमाली मुद्दाबारे जिज्ञासा राख्नेहरूका लागि नेपाल मण्डप प्रभावकारी माध्यम बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालका शुभचिन्तक देश, दाता, सहयोगी बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूले यसपटक नेपाल मण्डप भ्रमण गरेको देखियो । यो नेपालका लागि ठूलो अवसर पनि हो । भावी दिनमा नेपालको प्राकृतिक विपत्तिमा सहयोग गर्ने हातहरू बढ्न सक्ने सम्भावना बढेको छ ।”

जलवायु विज्ञ डा. सिन्धुप्रसाद ढुङ्गानाले पनि नेपाल मण्डपले सम्मेलनस्थलमा विदेशी प्रतिनिधि तथा दातृ निकायसँग छलफल गर्न सहज बनाएको बताउनुभयो ।

उहाँका अनुसार सम्मेलनका क्रममा विभिन्न मुलुकका प्रतिनिधि, दातृ निकाय तथा विकास साझेदार संस्थासँग महत्वपूर्ण बैठक र छलफल गर्नुपर्ने भएकाले नेपाल मण्डप साझा भेटघाटस्थलका रूपमा उपयोगी बनेको छ ।

उहाँले भन्नुभयो, “नेपाल मण्डपका कारण नेपालका बारेमा कुनै पनि दातृ निकाय र शुभेच्छुक मुलुकका प्रतिनिधिसँग कहाँ बसेर कुरा गर्ने भन्ने समस्या टरेको छ । सम्मेलनस्थलमा महत्वपूर्ण बैठक र छलफल गर्नुपर्ने हुन्छ । ती बैठक र छलफल गर्ने, आफ्ना कुरा भन्ने र सुनाउने थलोका रूपमा यसले काम गरेको छ ।”

२०० विज्ञले राखे धारणा, पाँच सयभन्दा बढी विदेशीको सहभागिता

कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालका अनुसार नेपाल मण्डप नेपाल र हिमाली क्षेत्रका मुद्दामा बहस गर्ने साझा थलो बनेको छ ।

उहाँले नेपालका शुभचिन्तक विदेशी प्रतिनिधिहरूले समेत नेपाल मण्डप भ्रमण गर्ने गरेको जानकारी दिनुभयो ।

सोमबारसम्म नेपाल मण्डपमा आयोजित साइड इभेन्टमा करिब २०० विज्ञ, अध्येता, प्राध्यापक तथा वैज्ञानिकले आफ्नो धारणा राखिसकेका छन् । ती वक्तामध्ये ४० प्रतिशत महिला र ६० प्रतिशत विदेशी रहेका छन् ।

त्यस्तै, नेपालका विषयमा जानकारी लिन, छलफल सुन्न र जिज्ञासा राख्न आउने विदेशीको सङ्ख्या पाँच सयभन्दा बढी पुगेको छ ।

नेपाल मण्डपमा साइड इभेन्ट सञ्चालनका लागि विभिन्न दातृ निकाय, दातृ मुलुक, बहुराष्ट्रिय कम्पनी, विकास साझेदार संस्था तथा संयुक्त राष्ट्रसङ्घ र यसका नियोगहरूले सहयोग गरिरहेको मन्त्रालयले जनाएको छ ।

चार मन्त्रीद्वारा विदेशी प्रतिनिधिसँग छलफल

नेपाल मण्डपमा आयोजित विभिन्न कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरूले समेत सहभागिता जनाउँदै विदेशी कूटनीतिज्ञ तथा विकास साझेदार संस्थाका प्रतिनिधिसँग छलफल र अन्तरक्रिया गरिसकेका छन् ।

परराष्ट्र मन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विभिन्न साइड इभेन्टमा सहभागी भएर नेपालको जलवायु अवस्था, चुनौती र सम्भावनाबारे धारणा राख्नुभएको छ ।

त्यसैगरी विभिन्न मुलुकका मन्त्री, कूटनीतिक नियोगका प्रतिनिधि तथा विकास साझेदार संस्थाका प्रमुखहरूले पनि नेपाल मण्डपमा आयोजित कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।

नेपाल मण्डपमार्फत जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका चुनौती, प्राकृतिक विपत्तिको जोखिम र त्यसको सामाजिक तथा आर्थिक प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने अवसर प्राप्त भएको छ । यसले आगामी दिनमा जलवायु अनुकूलन, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउने नेपालको प्रयासलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्