काठमाडौं – नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। निगमको ५६औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । उनका अनुसार निगमले सो अवधिमा ३ खर्ब ६७ अर्ब रुपैयाँको कुल कारोबार गर्दै १ खर्ब २४ अर्ब रुपैयाँ बराबरको राजस्व राज्यलाई योगदान गरेको छ। स्वचालित मूल्य समायोजन प्रणाली र सुदृढ पूर्वाधार विकासकै कारण निगम आर्थिक रूपमा सबल बन्न सफल भएको डा. भट्टले बताए । निगमले मोतिहारी–अमलेखगञ्ज ७२ किलोमिटर पेट्रोलियम पाइपलाइन र अमलेखगञ्जमा १७ हजार किलोलिटर क्षमताको भण्डारण गृह सञ्चालनमा ल्याएको छ। यसबाट ढुवानी खर्च घट्दा उपभोक्ताले प्रतिलिटर २ रुपैयाँ सस्तोमा इन्धन पाउँदै आएका छन्। पोखरामा ३ हजार ६ सय किलोलिटर क्षमताको हवाई इन्धन भण्डारण गृह पनि निर्माण सम्पन्न भएको निगमले जनाएको छ । प्रविधि प्रयोगतर्फ अमलेखगञ्ज, भैरहवा र थानकोट डिपोमा फ्लो मिटर जडान गरी तेल चोरी र चुहावट नियन्त्रण गरिएको छ भने ईआरपी प्रणालीमार्फत मोबाइलबाटै तेल अर्डर गर्ने व्यवस्था लागू गरिएको छ ।
कार्यकारी निर्देशक भट्टले निगम अब परम्परागत इन्धन व्यापारबाट बाहिर निस्केर क्लिन इनर्जी र विविधीकरणतर्फ अघि बढ्ने बताए । यसै वर्षदेखि पेट्रोलमा इथानोल मिसाउने नीति कार्यान्वयन गरिने र काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरी हरित हाइड्रोजनको व्यावसायीकरण गर्दै सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन लक्ष्यमा योगदान पुर्याइने उनले बताए । पूर्वाधार विस्तारअन्तर्गत सिलिगुडी–चारआली र मोतिहारी–सर्लाही एलपीजी पाइपलाइन निर्माणबारे भारतीय पक्षसँग छलफल भइरहेको छ। साथै सुरक्षा जोखिममा रहेका सिनामङ्गल, भैरहवा र धनगढीका डिपो स्थानान्तरण गरिने तथा कर्णाली प्रदेशमा नयाँ डिपो निर्माण प्रक्रिया अघि बढाइएको छ । निगमले दुर्गमका ३७ स्थानमा नयाँ पेट्रोल पम्प सञ्चालन गर्ने, संस्थालाई पब्लिक लिमिटेडमा रूपान्तरण गरी सेयर जारी गर्ने र ४५० किलो क्षमताको ठूलो ग्यास सिलिन्डर प्रचलनमा ल्याउने विषयमा अध्ययन गरिरहेको जनाएको छ । हाल करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारीमार्फत देशभर दैनिक ७५ लाख लिटर पेट्रोलियम पदार्थ र १ हजार ५ सय टन ग्यास वितरण हुँदै आएको छ। कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा लगायतको उपस्थिति थियो ।





प्रतिक्रिया दिनुहोस्