काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेस नयाँ जोश, नयाँ योजना र सुशासनको दृढ संकल्पसहित देशको नेतृत्व लिन पूर्ण रूपमा तयार भएको बताएका छन् । हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनपछिको सन्दर्भमा धारणा सार्वजनिक गर्दै उनले पार्टीलाई थप गतिशील, जनउत्तरदायी र विधिसम्मत बनाउन सबैको साझा प्रयास सफल भएको उल्लेख गरे । महामन्त्री पौडेलले विशेष महाधिवेशनमा सहभागी नभएका नेता–कार्यकर्तालाई पनि अब एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। “हामी हिजो पनि एक थियौँ र भोलि पनि सँगै हुनेछौँ। कसैले पनि हारेको महसुस गर्नुपर्ने अवस्था छैन,” उनले भने, “सबै मन र मुटुलाई एउटै छातामुनि गोलबद्ध बनाउन हाम्रो इमान्दार प्रयत्न निरन्तर जारी रहनेछ।” उनले पार्टी रूपान्तरणको यात्रामा युवा पुस्ता, विशेषगरी जेन जी (Gen Z) ले उठाएका आवाजलाई बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गरे। चारतारे झण्डामुनि सबै एकजुट भएर बदलिएको नीति र नेतृत्वसहित पार्टीलाई अझ सबल र एकताबद्ध बनाइने उनको भनाइ छ। महामन्त्री पौडेलले जेन जी पुस्ताका युवालाई रुपान्तरित नेपाल निर्माणको महाअभियानमा काँग्रेससँग सहकार्य गर्न विशेष आह्वान पनि गरे । आसन्न आम निर्वाचनतर्फ संकेत गर्दै उनले मुलुक निर्णायक मोडमा उभिएको बताए। “आम नागरिकले अहिले एक सबल, सक्षम, एकताबद्ध र विधिमा चल्ने नेपाली काँग्रेस खोजेका छन्,” उनले भने। त्यसैले अबको काँग्रेस निर्वाचनमार्फत देशको बागडोर सम्हाल्ने र नागरिकको समृद्धिको सपना पूरा गर्न केन्द्रित हुनुपर्ने उनको जोड छ । महामन्त्री पौडेलले काँग्रेसले जनतासामु स्पष्ट सन्देश लिएर जानुपर्ने बताए। “अब हामीले नागरिकलाई भन्नुपर्छ काँग्रेस रूपान्तरण भएको छ, अब काँग्रेसले देशको रूपान्तरण गर्नेछ,” उनले भने । उनको भनाइलाई पार्टीभित्र नयाँ एकता, युवा सहभागिता र सुशासनको एजेन्डासहित आगामी निर्वाचनतर्फ अग्रसर हुने काँग्रेसको स्पष्ट संकेतका रूपमा हेरिएको छ ।





प्रतिक्रिया दिनुहोस्