Skip to content

दार्चुलाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बने लक्ष्मण दत्त जोशी (सुरज)

दार्चुला – नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, दार्चुला जिल्लाका नेता तथा संविधान सभा सदस्य  लक्ष्मण दत्त जोशी (सुरज) दार्चुला जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका छन् । उनलाई पार्टी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको हो । जोशी २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा दार्चुलाबाट निर्वाचित भएका थिए। २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पराजय भोगेपछि उनले संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका थिएनन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि एमालेका गणेशसिंह ठगुन्ना उम्मेदवार बनेका थिए। त्यस्तै, २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी र नेपाली काँग्रेसबीच गठबन्धन हुँदा दार्चुला निर्वाचन क्षेत्र काँग्रेसको भागमा परेको थियो ।

यसपटक पार्टी केन्द्रको निर्णयसँगै जोशी १२ वर्षपछि पुनः चुनावी प्रतिस्पर्धामा होमिने भएका छन् । लामो समयदेखि पार्टी संगठन निर्माण, जनआन्दोलन र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका जोशीको उम्मेदवारीले दार्चुलाको राजनीतिक समीकरणमा केहि फेरबदल हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्