काठमाडौँ – अमेरिकासँगको तानातानीको बीच भारतले युरोपेली युनियन (ईयू) सँग व्यापार सम्झौता गर्ने तयारी गरेको छ । मंगलबार हुन लागेको भारत–युरोपेली संघको शिखर सम्मेलनमा उक्त सम्झौता हुने बताइएको छ । भारतले रुससँग पेट्रोलियम पदार्थ खरिद गरेको भन्दै अमेरिकाले भारतीय समानमा उच्च कर लगाइरहेको बेला हुन लागेको यो सम्झौताले दुवै पक्षलाई ठूलो राहत दिने अधिकारीहरुले बताएका छन् । रुबिक डाटा साइन्सेसको एक रिपोर्टका अनुसार भारतले अमेरिकामा निर्यात गर्ने शीर्ष १५ श्रेणीका सामानको मूल्य करिब ४५ अर्ब डलर रहेको छ । यसमा गहना र रत्न, फार्मास्यूटिकल्स, पेट्रोलियम उत्पादनहरू आदि समावेश छन् । यीमध्ये १२ वटा समान ईयूमा निकै कम उपस्थिति छ । अर्थात्, यी सामानहरू कम मात्रामा युरोपियन युनियनमा समावेश भएका देशहरूमा पठाइन्छ, जसको मूल्य लगभग २१ अर्ब अमेरिकी डलर छ । यदि अमेरिकामा हुने यी निर्यातमध्ये आधा पनि बिस्तारै ईयूमा सर्न थाल्यो भने यसले दुई देशबीचको व्यापारमा ठूलो परिवर्तन ल्याउन सक्छ । उक्त रिपोर्टका अनुसार भारत र ईयूबीचको वार्षिक कारोबार आर्थिक वर्ष २०२३ र आर्थिक वर्ष २०२५ को बीचमा लगभग १३६.५ बिलियन अमेरिकी डलरमा स्थिर रह्यो । सन् २०२५ को व्यापारिक वर्षमा ईयूले अमेरिकालाई उछिन्दै भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ ।
युरोपेली संघको अर्थतन्त्र करिब २१ ट्रिलियन डलर रहेको छ भने अन्य देशसँगको व्यापार करिब ५.४ ट्रिलियन डलर रहेको छ । यसका बाबजुद ईयूको आयातमा भारतको हिस्सा २.९ प्रतिशत मात्र छ भने ईयूको निर्यातमा भारतको हिस्सा १.९ प्रतिशत छ । अब भारत र ईयु बीचको सम्झौतापछि त्यो मात्रा उल्लेख्यरुपमा बढ्ने विश्लेषकहरुको दावी छ ।
ईभीको मूल्य घट्ने, व्यापार बढ्ने अनुमान
भारत र ईयू बीच हुन लागेको स्वतन्त्र व्यापार सम्झौतामा भारतमा युरोपेली कारहरू, विशेष गरी विद्युतीय सवारी (ईभी) मा आयात शुल्क १० देखि १५ प्रतिशतसम्म घट्न सक्ने बताइएको छ । योसँगै ईभी गाडीहरुको मूल्य घटने प्रक्षेपण गरिएको छ । बिक्री कम आयात शुल्क र मूल्यमा गिरावटका कारण बढ्न सक्छ । जनवरी २७ मा हुने द्विपक्षीय शिखर सम्मेलनमा यो सम्झौताको घोषणा हुने सम्भावना छ । त्यसपछि भारत युरोपेली लक्जरी ईभीहरूको लागि एक आकर्षक उत्पादन केन्द्र बन्न सक्छ। यदि एउटा युरोपेली कारको मूल्य ४० हजार डलर (करिब ३७ लाख भारतीय रुपैयाँ) भन्दा बढी छ भने भारतमा करिब शतप्रतिशत आयात शुल्क लाग्दछ ।





प्रतिक्रिया दिनुहोस्