काठमाडौँ – नेकपा एमालेनिकट युवा संघ अध्यक्षमा महाराज गुरूङ चयन भएका छन् । शुक्रबार बसेको केन्द्रीय युवा परिषद् बैठकले गुरूङलाई अध्यक्ष बनाएको हो । यसअघि अध्यक्ष रहेका क्षितिज थेवे केन्द्रीय कमिटी सदस्य निर्वाचित भएपछि उनले नेतृत्व हस्तान्तरण गरेका हुन् । एमालेको परम्पराअनुसार माथिल्लो कमिटीमा निर्वाचित भएपछि तल्लो कमिटीको पद अनिवार्य रिक्त हुन्छ । गत महाधिवेशनबाट संघको अध्यक्षमा दोहोर्याएर जितेका क्षेवे ताप्लेजुङबाट प्रतिनिधि सभाको उम्मेदवार पनि छन् ।
गुरूङ यसअघि संघको उपाध्यक्ष थिए। उनी पनि दोहोर्याएर उपाध्यक्ष निर्वाचित भएका थिए । दोलखा निवासी गुरूङले अनेरास्ववियुबाट राजनीतिक यात्रा आरम्भ गरेका थिए। त्यसपछि युवा आन्दोलनतिर लागेका गुरूङ राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटी सदस्य बनेका थिए। जिल्ला तहमा युवा संघको उपाध्यक्ष हुँदै अध्यक्षसम्म बनेका थिए । त्यतिबेला आफूले साविक ७५ जिल्लामध्ये उत्कृष्ट कार्यसम्पादन गरेको उनको दाबी छ । त्यसपछि नेकपा एमालेको दोलखा जिल्ला कमिटी सदस्य निर्वाचित भएका गुरूङ युवा संघको केन्द्रीय सदस्य, बागमती प्रदेश इन्चार्ज, केन्द्रीय सचिव हुँदै नेपालगञ्ज महाधिवेशनबाट उपाध्यक्ष चुनिएका हुन्। त्यसछि उनी संघको संगठन विभाग प्रमुखसमेत भएका थिए ।





प्रतिक्रिया दिनुहोस्