काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ । टर्किस एयरलाइन्सको उडान नम्बर टीएचवाई–७२७ बुधबार दिउँसो १:२८ बजे त्रिभुवन विमानस्थलबाट उडेको थियो। उडान भएको करिब ४ मिनेटमै जहाजको दायाँ इन्जिनमा आगलागी भएको जानकारी प्राप्त भएको हो । आगलागीको खबर प्राप्त भएपछि चालकदलले तत्काल दायाँ इन्जिन बन्द गरी जहाजलाई पश्चिम दिशामा लगेर करिब १० देखि १२ मिनेट आकाशमै होल्ड गरेका थिए। उक्त जहाज टर्किस एयरलाइन्सको ए३३०–३०३ सिरिजको वाइड बडी विमान हो, जसमा २२५ जना यात्रु सवार थिए । घटनापछि सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १५ मिनेटका लागि पूर्ण रूपमा बन्द गरिएको थियो। यस अवधिमा दमकल, एम्बुलेन्सलगायत सम्पूर्ण सुरक्षा व्यवस्था तयारी अवस्थामा राखिएको थियो । पछि चालकदलले जहाजलाई भारतको कोलकातातर्फ डाइभर्ट गर्ने निर्णय गरेपछि त्यसका लागि अनुमति दिइएको थियो। दायाँ इन्जिन बन्द गरेपछि आगलागी नियन्त्रणमा आएको र बायाँ इन्जिन मात्र प्रयोग गरी जहाज सुरक्षित रूपमा कोलकातामा अवतरण गरिएको जनाइएको छ । घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन पुनः सामान्य अवस्थामा फर्किएको छ ।





प्रतिक्रिया दिनुहोस्