काठमाडौँ – निजी क्षेत्रद्वारा सञ्चालित वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले डेढ वर्षपछि उडान अनुमति पाएको छ । २०८१ साउन ९ गते पोखरा उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि नेपाल उड्डयन प्राधिकरणले सौर्यको एयरक्राफ्ट अपरेटर सर्टिफिकेट(एओसी) अनिश्चितकालका लागि निलम्बन गरेको थियो । जहाज सि–चेक भन्ने विस्तृत निरीक्षणको लागि काठमाडौंबाट पोखराका लागि उडेको थियो । दुर्घटनामा परेको जहाजमा १९ जना यात्रुमध्ये क्याप्टेन मनिष शाक्य बाहेक १८ जनाको ज्यान गएको थियो ।
जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो । माघ ४ गते प्राधिकरणले सौर्य एयरलाइन्सको एओसी नवीकरण र यसअघिको निलम्बन समेत फुकावा गरेको छ । यो नवीकरणको अवधि सन् २०२७ सम्म रहेने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । प्राधिकरणले चन्द्रगढी विमानस्थल (भद्रपुर), विराटनगर विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट (भैरहवा), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पोखरा), नेपालगञ्ज विमानस्थल र धनगढी विमानस्थलमा नियमित तथा वैकल्पिक उडान अनुमति दिएको छ । दुर्घटनापछि निलम्बनमा परेको एयरलाइन्सले प्राधिकरणसँग डेढ वर्षदेखि उडानका लागि अनुमति माग्दै आएको थियो ।
सौर्य एयरलाइन्सका बजार प्रमुख मुकेश खनालका अनुसार एउटा विमानले काठमाडौं बाहिर र दुईटाले त्रिभुवन विमानस्थलमै रहने गरेर प्राधिकरणबाट सञ्चालन अनुमति पाएको हो । ५० सिट क्षमताका सिआरजे–२०० सिरिजका तीन विमानले उडान अनुमति पाएको हो । ‘अहिले हामी काठमाडौं–भद्रपुर–विराटनगर उडान गछौं,’ खनालले भने, नेपालगञ्ज र मानसरोवरमा पनि उडान गर्ने योजना छ । कम्पनीले थप तीन वटा नयाँ एटिआर–६०० जहाज पनि किन्ने योजना बनाएको खनालले जानकारी दिए । उडानका लागि सुरक्षा अडिट, तालिम, दस्तावेज सुधार तथा डिजिटल प्रणाली सम्बन्धी आवश्यक काम पूरा भइसकेको उनले बताए । सौर्य एयरलाइन्सले नियामक निकायको मापदण्डअनुसार फ्लाइट सेफ्टी अडिट (एसएमएस)मा ६५ प्रतिशत अंक प्राप्त गरेको छ । सामान्यतया एसएमएसमा ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्नु राम्रो मानिन्छ ।





प्रतिक्रिया दिनुहोस्