Skip to content

फागुन २१ पछिका पाँच वर्ष भ्रष्टाचार र कुशासनविरुद्ध कांग्रेसको ‘महासंग्राम’ हुने : सभापति गगन थापा

विराटनगर – नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ पछि सुरु हुने आगामी पाँच वर्ष कांग्रेसको नेतृत्वमा भ्रष्टाचार र कुशासनविरुद्ध ‘महासंग्राम’ सावित हुने दाबी गरेका छन् । पार्टी सभापति बनेपछि पहिलोपटक सोमबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले भ्रष्टाचार नियन्त्रण कुनै एक व्यक्तिको चमत्कारले सम्भव नहुने स्पष्ट पारे । ‘विगतमा हामीले संस्थाहरूलाई पङ्गु बनायौँ,’ उनले भने, ‘अब ती संस्थाहरूलाई बलियो बनाइन्छ । विधिको शासनमा कुनै सम्झौता हुँदैन ।’ उनले सत्ताको नजिक वा लोकप्रिय छ भन्दैमा कानुन फरक नहुने जिकिर गरे । ‘कानुन सबैका लागि बराबर हुनुपर्छ,’ उनले भने । सभापति थापाले आगामी निर्वाचनमा कांग्रेसको पहिलो प्रतिबद्धता संविधानको निरन्तरता भएको बताए ।
‘यो संविधान धेरै संघर्ष र उतारचढावपछि बनेको हो,’ उनले भने, ‘यसलाई तलमाथि गर्दा देशले ठूलो मूल्य चुकाउनुपर्छ ।’ संविधानभित्र सुधार आवश्यक भए पनि त्यो संवाद र सहमतिबाट मात्रै सम्भव हुने उनको भनाइ छ ।

भदौ २३ र २४ गते भएका घटनालाई उनले आकस्मिक हिंसा नभई नागरिक असन्तुष्टिको विस्फोटका रूपमा व्याख्या गरे । ती घटनापछि देखिएका राजनीतिक प्रतिक्रियालाई उनले दुई प्रवृत्तिमा विभाजन गरे । ‘एउटा डिनायलको प्रवृत्ति देखियो—नागरिकमा असन्तुष्टि नै छैन भन्ने, सबैलाई षड्यन्त्र र घुसपैठ भन्ने,’ उनले भने, ‘अर्को डिभिडेन्ड खाने प्रवृत्ति—नौजवानको ज्यान गएको घटनाबाट राजनीतिक मुनाफा खोज्ने । कांग्रेस यी दुवै प्रवृत्तिको विपक्षमा छ ।’ उनले कांग्रेस न अस्वीकार गर्ने न त राजनीतिक मुनाफा खाने पार्टी भएको स्पष्ट पारे । ‘कांग्रेसको क्यारेक्टर भनेको राष्ट्रिय ड्युटी पूरा गर्नु हो,’ उनले भने, ‘असन्तुष्टि किन भयो भन्ने प्रश्न कांग्रेसले सुन्छ, बुझ्छ र जिम्मेवारी स्वीकार गर्छ ।’ भदौ २३ र २४ का घटनालाई गहिराइमा हेर्दा स्पष्ट सन्देश देखिने उनको भनाइ थियो । ‘सडकमा आएका नौजवान मात्रै होइनन्, घरभित्र बसेका नागरिक पनि त्यो असन्तुष्टिमा सहभागी थिए,’ उनले भने, ‘त्यो असन्तुष्टिलाई सुन्ने साहस कांग्रेससँग छ । कायरले कमजोरी स्वीकार गर्दैन, साहसीले स्वीकार गर्छ ।’ सभापति थापाले कांग्रेसको इतिहास नै देश सम्हाल्ने निर्णयहरूको इतिहास भएको दाबी गरे । ‘२०३३ सालमा बीपी कोइराला र गणेशमान सिंह ज्यान हातमा लिएर फर्कँदा पार्टीभन्दा देशको अखण्डता पहिलो प्राथमिकता थियो,’ उनले स्मरण गरे । माओवादी सशस्त्र द्वन्द्व र २०७२ सालको संविधान निर्माणका क्रममा कांग्रेसले आफ्नो क्षति सहेर पनि राष्ट्रिय सहमति रोजेको उनले उल्लेख गरे । कांग्रेसको रुपान्तरणलाई पुरानो फालेर नयाँ ल्याउने अवधारणासँग नजोड्न आग्रह गर्दै उनले भने, ‘कांग्रेस पुरानो पनि हो, नयाँ पनि हो । हामी यसलाई चेन्ज र कन्टिन्युटी भन्छौँ । २००७ सालका नौजवान र भदौ २३ का नौजवानको आत्मा एउटै हो—स्वतन्त्रता र अभिव्यक्तिको चाहना ।’ सभापति थापाका अनुसार कांग्रेसको सबैभन्दा ठूलो शक्ति समाजका फरक–फरक समूहलाई जोड्ने क्षमता हो । ‘पुस्ता भिडाउन सजिलो हुन्छ, समुदाय भिडाउन सजिलो हुन्छ,’ उनले भने, ‘सबैलाई मिलाएर अघि बढाउने चरित्र कांग्रेससँग छ ।’ उनले आगामी पाँच वर्षमा कुनै पनि निर्दोष युवक सडकमा गोलीबाट नढल्ने र सिंहदरबार जल्ने अवस्था नआउने विश्वास व्यक्त गरे । कार्यकर्तालाई सामाजिक सञ्जालमै सीमित नहुन आग्रह गर्दै उनले भने,
‘सामाजिक सञ्जाल माध्यम हो, तर सबै कुरा होइन । कांग्रेसको शक्ति संवाद हो । घर–घर पुगेर चिया खाएर कुरा गर्नुस्, कांग्रेसलाई भोट दिन्नँ भन्ने मान्छे पनि फर्किन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्