काठमाडौँ – मंगलबार सेयर बजार परिसूचक नेप्से १० अंकले घटेको छ। यससहित तीन दिन यता नेप्सेले ४७ अंक गुमाएको छ । यसदिन नेप्से २६६२ विन्दुमा आएर बजार बन्द भयो। बजार घट्दै जाँदा कारोबार रकम पनि घट्न थालेको छ। केही दिनअघिसम्म ११ अर्बको कारोबार भइरहेको बजारमा सोमबार १० अर्ब ७७ करोड र मंगलबार आठ अर्ब ६१ करोड रूपैयाँको कारोबार भयो । यसदिन सामूहिक लगानी कोष र व्यापार मुलक समूहमा मात्रै सुधार भयो। यी समूह क्रमशः ०.१९ प्रतिशत र ०.५२ प्रतिशतले बढे । कारोबारमा आएका ३२४ लगानी उपकरणमध्ये १०६ वटाको मूल्य बढ्यो भने २२२ वटाको मूल्य घट्यो। बाँकीको स्थिर रह्यो । कारोबारमा आएका मध्ये कालिन्चोक दर्शन र अरुण भ्याली हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ ।
कालिन्चोक दर्शनको मूल्य ६.३६ प्रतिशत बढेर ९९५ रूपैयाँमा कारोबार भयो। त्यस्तै, अरुण भ्यालीको सेयर ५.१८ प्रतिशतले बढेर २९४ रूपैयाँमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सबैभन्दा धेरैले सेयर मूल्य घट्यो। यसको ५.२४ प्रतिशतले मूल्य घटेर १६१० रूपैयाँमा सेयर कारोबार भइरहेको छ । कारोबार रकमको आधारमा पनि अरूण भ्याली अग्रस्थानमा छ। यसको ४५ करोड २८ लाख रूपैयाँको सेयर कारोबार भयो ।





प्रतिक्रिया दिनुहोस्