Skip to content

विराटनगरलाई राजनीतिक राजधानी बनाउँछुु : शेखर कोइराला

विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरलाई पुन: राजनीतिक राजधानी बनाउने उद्घोष गरेका छन् । बिहीबार प्रजातन्त्र दिवसका अवसरमा विराटनगरमा तरुण दलले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा विराटनगरको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कोइरालाले त्यसपछि पनि लामो समय विराटनगर राजनीतिक राजधानी रहेको टिप्पणी गरे ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनको विगुल विराटनगरले फुकेको थियो । कृष्णप्रसाद कोइरालाले प्रजातान्त्रिक आन्दोलनको आवाज उठाउँदादेखि नै विराटनगर राजनीतिक चर्चाको केन्द्रमा थियो । त्यसपछि मातृकाप्रसाद कोइराला, बीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्म राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदा विराटनगर राजनीतिक राजधानीका रूपमा परिचित थियो । गिरिजाप्रसादको निधनपछि भने विराटनगरको राजनीतिक पहिचान खुम्चिन पुगेको थियो । अहिले पुन: विराटनगरको विरासत फर्काउने उद्घोष शेखरले गरेका हुन् ।

‘विराटनगरलाई हामी फेरि राजनीतिक राजधानीको रूपमा हामी परिणत गर्छौँ,’ शेखरले भने, ‘कुनै समय विराटनगर मुलुककै औद्योगिक नगरीका रूपमा परिचित थियो, तर अहिले अन्य सहरहरूले हामीलाई उछिनेको आभास भइरहेको छ, म यसपटक संसदमा गएर विराटनगरलाई पुन: राजनीतिक राजधानी र औद्योगिक नगरीका रूपमा स्थापित गर्ने मेरो संकल्प पूरा गर्नेछु ।’ उनले लोकतन्त्र बचाउनका लागि पनि आफू संसदमा जानुपर्ने बताए । उनले अगाडि भने, ‘लोकतन्त्र मासिन्छ कि भन्ने डर छ हामीलाई, राष्ट्र र राष्ट्रियता खतरामा परेको अवस्था छ, त्यसलाई बचाउन पनि म संसद भित्र जान खोजेको । संसदीय सर्वाेच्चताका निम्ती पनि म संसदमा जान खोजेको हो ।’

प्रतिक्रिया दिनुहोस्