Skip to content

घरदैलोमै जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही – दाङको लमही नगरपालिकाले नागरिकलाई घरदैलोमै पुगेर जन्म तथा मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत व्यक्तिगत घटना दर्तालाई सहज, छिटो र पहुँचयोग्य बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीका अनुसार यस अभियानले नागरिकलाई कार्यालय धाउनुपर्ने झन्झट कम गर्नुका साथै घटना दर्ता प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

अभियानअन्तर्गत लमही नगरपालिका–६ मा केही दिनअघि सवारी दुर्घटनामा परी निधन भएका दीपक पोख्रेल र देउपुर निवासी हरिराम चौधरीको मृत्यु दर्ता गरी परिवारलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । कार्यक्रममा नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत डाँगी तथा वडाध्यक्ष श्यामनारायण चौधरीलगायतको सहभागिता रहेको थियो । प्रमाणपत्र हस्तान्तरण गर्दै नगर प्रमुख चौधरीले जन्म, मृत्यु, विवाह तथा बसाइँसराइ जस्ता व्यक्तिगत घटनाहरू समयमै दर्ता गराउनु नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो ।

उहाँले घटना भएको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा अनिवार्य रूपमा दर्ता गराउन नागरिकलाई प्रेरित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्