काठमाडौँ – इरानको ड्रोन आक्रमणबाट जोगाउन मध्यपूर्वमा आफ्ना दुई सय बढी सैन्य विज्ञ खटिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । इरानको शाहिद ड्रोनबाट जोगाउन आफ्ना २०१ सैन्य विज्ञ खटिएको र थप ३४ जना खटिन तयार रहेको जेलेन्स्कीले जानकारी दिएको द गार्डियनले लेखेको छ । जोर्डनस्थित अमेरिकी सैन्य शिविरको सुरक्षाका लागि युक्रेनले आक्रमण रोक्ने ‘इन्टरसेप्टर’ ड्रोन र विशेषज्ञहरूको टोली पठाएको गत हप्ता पनि जेलेन्स्कीले बताएका थिए । अमेरिकाले सहयोगका लागि अनुरोध गरेको र युक्रेनी टोली भोलिपल्टै प्रस्थान गरेको जेलेन्स्कीले खुलाएको भनेर द न्यूयोर्क टाइम्सले जनाएको थियो ।
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमा आक्रमण गरेपछि जबाफमा इरानले इसराइल र खाडी राष्ट्रहरूमा प्रहार गरिरहेको छ। इरानको मिसाइललाई अमेरिकी र इसराइली एयर डिफेन्सले खसालिरहे पनि इरानी ड्रोन आक्रमण रोक्न मुश्किल भइरहेको छ । ५० हजार डलरभन्दा सस्ता इरानी ड्रोन खसाल्न अमेरिका र इसराइलले १० औं लाख डलर पर्ने खर्चिला मिसाइल ‘इन्टरसेप्टर’ को प्रयोग गरिरहेका छन्। मिसाइल आक्रमण रोक्न प्रयोग हुने सीमित र महंगा ‘इन्टरसेप्टर’ सस्ता ड्रोन खसाल्न प्रयोग गर्नुपरेपछि अमेरिकालाई अप्ठ्यारो परेको छ ।
त्यसैले अमेरिका मात्रै नभएर खाडी राष्ट्रहरूले पनि युक्रेनसँग सहयोग मागेका छन् । युक्रेनसँगको युद्धमा सहयोग गर्न इरानले शाहिद ड्रोन दिएको थियो । अहिले रूस आफैले ती ड्रोन उत्पादन गरेर युक्रेनमाथि प्रयोग गरिरहेको छ । रूसको ड्रोन आक्रमण रोक्न युक्रेनले आफै रक्षात्मक ‘इन्टरसेप्टर’ ड्रोन बनाएको छ। ती ‘इन्टरसेप्टर’ ड्रोनले रूसी ड्रोनमा ठक्कर दिएर तीनलाई नष्ट पार्छन् ।
इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामाथि गरेको ड्रोन आक्रमणबाट जोगाउन अहिले युक्रेनले अमेरिकालाई सहयोग गरेको हो । अमेरिकालाई अहिले सहयोग गरेको बदलामा रूसलाई फाइदा हुने गरी शान्ति सम्झौता गर्न दबाब दिइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफूप्रति नरम हुने युक्रेनले आशा गरेको छ । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)





प्रतिक्रिया दिनुहोस्