Skip to content

सरकारलाई बुझाएको कार्की आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भदौ २३–२४ मा भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । शुक्रबारदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि विस्तृत छलफल पनि गरिएको छ । बैठकले निर्वाचन परिणामबारे जिल्ला र निर्वाचन क्षेत्रबाट पनि थप प्रतिवेदन पठाउन निर्देशन दिँदै प्रारम्भिक समीक्षा र जिल्ला तहबाट प्राप्त प्रतिवेदनलाई एकीकृत गरी पुनः समिक्षा गर्ने निर्णय गरेको छ । निर्वाचन परिणामका प्रमुख कारणहरूमा चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण संगठनात्मक शक्ति कमजोर हुनु, गठबन्धन सरकारको कार्यसम्पादन जनअपेक्षाविपरीत देखिनु, विगतका शासन व्यवस्थाका संरचनागत कमजोरीका कारण जनआक्रोश बढ्नु, जेन–जी युवा आन्दोलनले पुराना राजनीतिक शक्तिप्रति असन्तोष अभिव्यक्त गर्नु, डिजिटल युगमा एल्गोरिदमिक प्रभावले नयाँ शक्तिहरूलाई लाभ पुग्नु लगायतका कारणहरु औंल्याइएको छ ।

बैठकले यी सबै कारणहरू व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य रहेको निष्कर्ष निकालेको छ। साथै विशेष महाधिवेशनपछि गठन भएको नयाँ नेतृत्वलाई करिब ५० दिनको सीमित अवधिमा सबै चुनौती समाधान गर्न कठिन भएको उल्लेख गरिएको छ । यस्तै, बैठकले अब पार्टी पूर्ण रूपमा १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने निर्णय पनि गरेको छ । निर्वाचन परिणामलाई आत्मसमीक्षा गर्दै कांग्रेसले यसलाई पुनर्जागरणको अवसरका रूपमा लिएको पनि जनाएको छ। कार्यकर्तालाई उच्च मनोबल कायम राख्न, अनुशासनमा रहन र पार्टी एकता सुदृढ गर्न आह्वान गरिएको छ । यस्तै, बैठकले निर्वाचन प्रक्रियामा सहभागी सबै उम्मेदवार, कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्था र स्वयंसेवकलाई धन्यवाद पनि दिएको छ । साथै, बैठकले मध्यपूर्वमा चर्किएको युद्धप्रति चिन्ता व्यक्त गर्दै विश्वशान्तिको आवश्यकता औंल्याएको छ । युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ। साथै हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा नियन्त्रणमा लिएका नेपाली नागरिक अमृत झालाई सुरक्षित स्वदेश फर्काउन माग पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्