नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकढिक्का राख्नुपर्नेमा जोड दिएका छन् । उनले एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका हुन् । देशका हरेक संकटमा पार्टी एकजुट रहेको भन्दै उनले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता हासिल गरेको बताएका छन् । ‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्न भिन्न भएर बिग्रनु हुन्न। म पार्टी महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् अपिल गरेका छन् । महामन्त्री पौडेलले पार्टीका सबै नेता कार्यकर्तालाई एकतामा नै शक्ति रहेको बताएका छन्। ‘एकताको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं,’ उनको भनाइ छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १४ औं महाधिवेशनबाट आएको कार्यसमिति बैठक राख्ने तयारी गरेपछि गत पुसमा भएको विशेष महाधिवेशनबाट महामन्त्री भएका पौडेलले यस्तो बताएका हुन् । देउवा पक्षले आज र भोलि काठमाडौंमा ‘केन्द्रीय कार्यसमिति’ बैठक गर्ने तयारी गरेको छ ।





प्रतिक्रिया दिनुहोस्