ललितपुर – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा सञ्चालनदेखि प्रशासनिक पुनःसंरचना सम्मका विषयमा विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । इन्द्रबहादुर बानियाँ को अध्यक्षतामा ललितपुरको जावलाखेलमा मंगलबार बसेको बैठकले एक साताभित्र प्रदेशसभा बैठक सञ्चालन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकले बागमती प्रदेश सभामुख पदमा नेपाली कांग्रेसले दाबी गर्ने निर्णय पनि गरेको छ । साथै प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिको मस्यौदालाई परिमार्जनसहित अघि बढाउन सरकारलाई आग्रह गरिएको छ । उक्त मस्यौदाअनुसार हाल रहेका १३ मन्त्रालयलाई घटाएर ७ वटामा सीमित गर्ने, ७ निर्देशनालयलाई २ वटामा झार्दै ५ वटा खारेज गर्ने तथा ७०१ कर्मचारी दरबन्दी कटौती गर्ने प्रस्तावलाई सरकारमा सहभागी दुई दलबीच छलफल गरेर पारित गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।
त्यसैगरी बैठकले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सह–महामन्त्रीमा निर्वाचित बहादुरसिंह लामा लाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । कांग्रेसभित्र देखिएको आन्तरिक समस्यालाई संवाद र सहमतिमार्फत समाधान गर्दै आगामी १५औँ महाधिवेशनलाई एकताको सन्देश दिने गरी अगाडि बढ्न बैठकले दुवै पक्षलाई आग्रह गरेको छ । बैठकले बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङका पिता, पूर्वमन्त्री तिर्थ लामाका पिता केशरबहादुर तामाङ तथा प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठका पति रामेश्वर श्रेष्ठको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।





प्रतिक्रिया दिनुहोस्