काठमाडौँ – नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले बिहीबार संसदमा दिएको अभिव्यक्ति पार्टीको नीति र मान्यताविपरीत रहेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा नेता बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जितलाई एआई र अल्गोरिदमको नतिजा र विदेशी शक्तिको चलखेल भनेर टिप्पणी गरेका थिए । उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला पौडेलले सामाजिक सञ्जालमा बादलको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। यो पार्टीको आधिकारिक धारणा नभएको उनले बताए ।
उनले लेखेका छन्, ‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन् ।’ यस विषयमा पार्टीले समीक्षा गर्ने पनि पौडेलले जानकारी दिएका छन् । भोलि शुक्रबार तय भएको एमाले केन्द्रीय सचिवालयको बैठकमा यस सम्बन्धमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय लिइने उनले जनाए ।





प्रतिक्रिया दिनुहोस्