Skip to content

काँग्रेस विवाद : काँग्रेसलाई एक बनाउन बडू सक्रिय, भने- मिल्नुको विकल्प छैन

काठमाडौं  – नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले नेपाली काँग्रेसभित्र देखिएको वर्तमान परिस्थितिमा पार्टी एकता र सुदृढीकरणका लागि सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई एकजुट हुन आह्वान गरेका छन् ।

१४औं महाधिवेशनको कार्यकाल समाप्तिपछि २०८२ मंसिरभित्रै नियमित १५औं महाधिवेशनमार्फत सहज नेतृत्व हस्तान्तरण हुनुपर्ने माग आफूहरूले निरन्तर उठाउँदै आएको भए पनि तत्कालीन संस्थापन पक्ष सहमत नभएको उनले उल्लेख गरेका छन् । यसैबीच उत्पन्न विवाद र ‘जेन्जी आन्दोलन’को पृष्ठभूमिमा संविधानअनुसार विशेष महाधिवेशन सम्पन्न गरिएको र निर्वाचन आयोगले त्यसलाई वैधानिकता प्रदान गरेको पनि उनले बताएका छन् । यद्यपि, सो निर्णयप्रति असन्तुष्ट केही नेताहरू सर्वोच्च अदालत पुगेको उल्लेख गर्दै बडूले अदालतको निर्णय सबैलाई मान्य हुने विश्वास व्यक्त गरेका छन् ।

विशेष महाधिवेशनपछि पार्टीभित्र विभाजनको जोखिम हुँदाहुँदै पनि अधिकांश नेता–कार्यकर्ताले एकताबद्ध भएर निर्वाचनमा सहभागिता जनाएको उनले बताए । सभापति गगन कुमार थापाको नेतृत्वमा चुनावमा प्रतिस्पर्धा गरिए पनि अपेक्षाअनुसार परिणाम आउन नसकेको र पार्टीले ऐतिहासिक रूपमा कमजोर नतिजा व्यहोर्नु परेको उनले स्वीकार गरेका छन् । उनका अनुसार आन्तरिक कमजोरी र मतदातामा देखिएको परिवर्तनको तीव्र चाहनाका कारण यस्तो परिणाम आएको हो । साथै, पार्टी सभापतिले नै परिणामको नैतिक जिम्मेवारी लिइसकेको सन्दर्भमा अब विगतका विवादमा अल्झिनु भन्दा भविष्यतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन् । बडूले लोकतन्त्र र प्राप्त उपलब्धिमाथि चुनौती बढिरहेको वर्तमान अवस्थामा नेपाली काँग्रेसले रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए। त्यसका लागि पार्टी थप सुदृढ, अनुशासित र एकताबद्ध हुन आवश्यक रहेको उनको भनाइ छ । अन्त्यमा उनले १५औं नियमित महाधिवेशनमा सक्रिय सहभागिता जनाउँदै पार्टीलाई बलियो बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्