Skip to content

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

काठमाडौँ – अमेरिका र इरानबीच दुई साताको युद्धविराम गर्ने सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको सहमति भएको घोषणा बुधबार बिहान आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर गरेका हुन् । उनले इरानलाई स्ट्रेट अफ हर्मुज खुला गर्न बुधबार बिहानसम्मको अल्टिमेटम दिएका थिए। त्यसो नभए सम्पूर्ण इरानी सभ्यता नै ध्वस्त पार्ने धम्की दिएका थिए । ट्रम्पले दिएको अल्टिमेटम सकिन दुई घन्टा बाँकी हुँदा उनी युद्धविरामका लागि सहमति भएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । ट्रम्पले इरानी सभ्यता नै सखाप पार्ने धम्की दिएपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले रातभरि दुवै पक्षसँग संवाद गरेका थिए । युद्धविराममा सहमति भएपछि अमेरिका र इरान दुवैले प्रधानमन्त्री सरिफलाई धन्यवाद दिएका छन् ।

‘संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान लगायत उनीहरूका सबै सहयोगी राष्ट्रहरू तत्काल कार्यान्वयन हुने युद्धविरामका लागि सहमत भएको घोषणा गर्न पाउँदा म खुशी छु,’ प्रधानमन्त्री शरिफले एक्समा लेखेका छन् । अमेरिकी अधिकारीहरूले इसराइल पनि युद्धविरामका लागि सहमत भइसकेको दाबी गरेका छन् । युद्धविराममा लेबनन पनि समेटिएको इरानी अधिकारीहरूले बताएका छन् ।  इरानी सरकारी टेलिभिजनले इरानको १० बुँदे प्रस्तावमा अमेरिकी सहमत भएको भनेर समाचार प्रसारण गरेका छन् ।

प्रस्तावमा अहिलेको युद्ध मात्रै नभएर खाडी क्षेत्रमा जारी सबै द्वन्द्वको अन्त्य, हर्मुजमा सुरक्षित आवतजावतका लागि एउटा मापदण्ड, इरान विरूद्ध लगाइएका प्रतिबन्धहरूको फुकुवा र पुनर्निर्माणका कुराहरू समेटिएको रोयटर्सले इरानी सरकारी मिडियाको हवाला दिँदै लेखेको छ । इरानले इसराइलबाट आक्रमण रोकिए स्ट्रेट अफ हर्मुज खुला गर्ने संकेत गरेको छ  । दुई देशबीच १५ दिनभित्र पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुने पनि तय भएको पनि अधिकारीहरूले बताएका छन् । ६ हप्तादेखि जारी युद्धमा करिब एक दर्जन देशमा पाँच हजारभन्दा बढी मानिसको ज्यान गएको छ, जसमा इरानमै १,६०० भन्दा बढी सर्वसाधारण परेका छन् । अन्तिम समयमा गरिएको सहमतिले विश्व बजारमा राहतको सास फेर्न मौका दिएको छ । अमेरिकी सेयर सूचक उकालो लाग्दा कच्चा तेलको मूल्य १७ प्रतिशतभन्दा बढीले घटेर करिब ९२ डलर प्रति ब्यारेलमा झरेको रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्