काठमाडौँ – स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा सेवाग्राहीमाथि रूखो व्यवहार गर्ने कर्मचारीलाई एक घन्टाको कक्षा लिनुपर्ने व्यवस्था गरेको छ । मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी गरी अस्पताल सुधारका लागि विभिन्न व्यवस्था गरेको हो । कार्यविधिको जनशक्ति व्यवस्थापन र आचरण खण्डमा कर्मचारीको आचरणबारे उल्लेख छ ।
त्यसमा सेवाग्राहीसँग नम्र व्यवहार गर्ने र म तपाईंलाई के सहयोग गर्न सक्छु भन्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख छ । रूखो व्यवहार गर्ने कर्मचारीलाई कार्यालय समयपछि एक घन्टाको ‘सफ्ट स्किल सेसन’मा सहभागी गराउने व्यवस्था पनि अस्पतालले गर्नुपर्ने उल्लेख छ । कार्यविधिमा कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गरी अनुगमनका लागि एक सम्पर्क व्यक्ति तोक्नुपर्ने उल्लेख छ। ड्युटीमा तोकिएको पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने पनि उल्लेख छ । कार्यविधिमा सेवाग्राहीको चाप बढी हुने अस्पतालले टिकट र क्यास काउन्टर थप गरी भीड व्यवस्थापन गर्न भनेको छ ।
टिकट तथा क्यास काउन्टरमा असहाय, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, गर्भवती र आकस्मिक बिरामीलाई प्राथमिकता दिने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । प्रयोगशाला परीक्षण तथा रेडियो ईमेजिङ्ग सेवाका सम्भव हुने सबै प्रतिवेदनहरू २४ घण्टाभित्र उपलब्ध गराउन भनिएको छ । अस्पतालले अनलाइन बुकिंग र रिपोर्ट डिस्प्याच प्रणाली लागू गर्नु पर्ने र सेवा विन्दुहरूमा डेडिकेटेड हाई स्पिड ईन्टरनेट सेवा सुनिश्चित गर्न पनि भनिएको छ । सरकारी अस्पतालहरूलाई आफ्नै सुलभ फार्मेसी सञ्चालन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । साथै चिकित्सकले औषधि सिफारिस गर्दा फार्मेसीमा उपलब्ध औषधिको सूची अनुसार प्रेस्क्रिप्सन लेख्नुपर्ने भनिएको छ । आकस्मिक उपचारका लागि आएका बिरामीलाई आफ्नोमा सेवा नभए अन्य सरकारी अस्पतालमा फोनमार्फत समन्वय गरी प्रेषण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।





प्रतिक्रिया दिनुहोस्