काठमाडौं – उपसभामुख रुविकुमारी ठाकुरले दाइजो लेनदेन भएको विवाहमा उपस्थित हुनु पनि दण्डनीय रहेको बताएकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले दाइजो लिनु–दिनु मात्रै नभएर दाइजोको लेनदेनमा आधारित विवाहमा भोज ग्रहण गर्नु पनि कानुनी रूपमा दण्डनीय अभ्यास भएको बताएकी हुन् ।
‘दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो,’ उपसभामुख ठाकुरले लेखेकी छन्, ‘यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउँछ ।’
समाज परिवर्तन, देश विकास र सामाजिक कुरीतिविरुद्ध उभिन चाहनेले परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।
‘यदि हामी साँच्चिकै समाज परिवर्तनको कुरा गर्छौं, देश विकासको सपना देख्छौँ र सामाजिक कुरीतिका विरुद्ध उभिन चाहन्छौँ भने परिवर्तनको सुरुवात हामी आफैंबाट गर्नुपर्छ,’ उपसभामुखको भनाइ छ, ‘व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ ।’
आफूले विवाहका निमन्त्रणा पत्रहरू प्राप्त गरिरहेको र तीमध्ये कुनै पनि कार्डमा ‘दहेजमुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख गरेको देख्न नपाइएको उनले उल्लेख गरेकी छन् ।




प्रतिक्रिया दिनुहोस्