Skip to content

जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनाैँ, आउनुस्

काठमाडौं – संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजीका प्रतिनिधिसँग छलफल बोलाएको थियो । साँझ साँझ ५ बजेका लागि डाकिएको छलफल जेनजी प्रतिनिधिहरूले बहिष्कार गर्ने भएपछि कार्यदलका संयोजकले यसबारे प्रष्टीकरण दिएका छन् ।

कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोहीअनुरूप जेनजीहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको बताए । जेनजी प्रतिनिधिहरूले अघिल्लो सरकारसँग भएको सहमतिको विषय उठाएर आजको छलफल बहिष्कार गरेका हुन् ।

शाहले अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनकै चरणमा रहेको र जेनजी परिषद् निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको बताएका छन् । यो कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्य विषयसँग नमिसाउन उनको आग्रह छ । कार्यदलले जेनजीहरूबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने गरी समय व्यवस्थापन गरेको छ । कार्यदलले गत चैत २५ गतेदेखि सरोकारवालासँग छलफल सुरु गरेको हो । हालसम्म संविधानविद्, पूर्वप्रशासक र सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकिएको छ भने आगामी दिनमा अन्य सरोकारवालासँग पनि छलफल गर्ने कार्यक्रम रहेको कार्यदलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्