काठमाडौँ – बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यालय समयभन्दा अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाअनुसार अतिरिक्त पारिश्रमिक दिनुपर्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून र निर्देशनअनुसार मात्रै काममा लगाउनुपर्ने उल्लेख गरिएको छ । साथै, कार्यालय समयभन्दा बाहिर काममा खटाइएमा अतिरिक्त पारिश्रमिकको व्यवस्था गर्नुपर्ने तथा कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने व्यवस्था गरिएको छ ।
यस्तै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन विशेष प्राथमिकता दिनुपर्ने व्यवस्था पनि गरिएको छ । राष्ट्र बैंकले त्यस्ता ग्राहकका लागि विशेष काउण्टर तोकी सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आपसी सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गमैत्री बनाउनुपर्नेछ। त्यस्ता शाखाको विवरण सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
त्यसैगरी, बैंकहरूले आपसी सहकार्यमा एटिएम लाउञ्ज भएका स्थानमा ब्रेल साइन कन्ट्रोल बटन र अडियो सपोर्टसहित कम्तीमा एउटा अपाङ्गमैत्री एटिएम राख्नुपर्ने उल्लेख गरिएको छ। यस्तो एटिएमको विवरण पनि सम्बन्धित संस्थाले वेबसाइटमा राख्नुपर्नेछ । राष्ट्र बैंकले अपाङ्गता भएका व्यक्तिले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटिएमजस्ता वित्तीय सेवा स्वयं प्रयोग गर्न सक्ने स्वघोषणाको आधारमा सेवा उपयोग गर्न सक्ने व्यवस्था समेत गरेको छ ।





प्रतिक्रिया दिनुहोस्