काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्य गर्ने समझदारी अन्तिम चरणमा पुगेको बताएका छन्। मध्यपूर्वका विभिन्न देशका नेतासँगको टेलिफोन वार्तापछि ट्रम्पले सम्झौतामा होर्मुज स्ट्रेट खोल्ने विषय पनि समावेश भएको दाबी गरेका हुन् । ट्रम्पले कतार, साउदी अरब, यूएई, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेतासँग छलफल गरेका थिए। उनले इजरायली प्रधानमन्त्री Benjamin Netanyahu सँग पनि छुट्टै संवाद गरेका थिए । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सम्झौताका अन्तिम विवरणमाथि छलफल भइरहेको र छिट्टै घोषणा गरिने बताएका छन्। पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पनि अमेरिका–इरान वार्ता सहज बनाउन पाकिस्तान तयार रहेको बताएका छन् ।
तर, सम्झौताका सर्तबारे अमेरिका र इरानबीच फरक–फरक दाबी सार्वजनिक भएका छन्। अमेरिकी पक्षले इरानले उच्च संवर्धित युरेनियमको भण्डार त्याग्ने जनाएको दाबी गरेको छ भने इरानी अधिकारीहरूले आणविक कार्यक्रमबारे छुट्टै वार्ता हुने बताएका छन् । इरानले होर्मुज स्ट्रेट खुलाउने, अमेरिकी नाकाबन्दी हटाउने र विदेशमा रोक्का रहेको २५ अर्ब डलर सम्पत्ति फुकुवा गर्ने विषय पनि समझदारीमा रहेको दाबी गरेको छ । यता अमेरिकाभित्रै सम्भावित सम्झौताको विरोध सुरु भएको छ। रिपब्लिकन सिनेटर Ted Cruz ले सम्झौताले इरानलाई आणविक क्षमता विस्तार गर्न छुट दिए गम्भीर गल्ती हुने चेतावनी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्