काठमाडौं – महालक्ष्मी नगरपालिका ले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन गरिरहेको ‘उपप्रमुखसँग सुत्केरी भेटघाट तथा न्यानो कपडा एवं पोषण सामग्री वितरण कार्यक्रम’ को दोस्रो चरण सम्पन्न गरेको छ। कार्यक्रममार्फत सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य, पोषण र सुरक्षालाई प्राथमिकतामा राख्दै न्यानो कपडा र पोषण सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जनले मातृ तथा शिशु स्वास्थ्य कुनै एक परिवारको मात्र विषय नभई समग्र समाज र राष्ट्रको भविष्यसँग प्रत्यक्ष जोडिएको बताउनुभयो । उहाँले वितरण गरिएका सामग्रीको आर्थिक मूल्यभन्दा यसको सामाजिक तथा स्वास्थ्यसम्बन्धी महत्व धेरै ठूलो रहेको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार सुत्केरी आमा र नवजात शिशुको जीवनको प्रारम्भिक अवस्था अत्यन्त संवेदनशील हुने भएकाले यस समयमा उचित पोषण, हेरचाह र संरक्षण उपलब्ध गराउनु आवश्यक हुन्छ। “यो कार्यक्रम केवल राहत वा सामग्री वितरणमा सीमित छैन, स्वस्थ र सक्षम नागरिक निर्माण गर्ने दीर्घकालीन अभियान हो,” उहाँले भन्नुभयो । नगरपालिकाका अनुसार हालसम्म २०० भन्दा बढी सुत्केरी आमा तथा नवजात शिशु कार्यक्रमबाट लाभान्वित भइसकेका छन्। जन्मदर्ता सम्पन्न भएपछि सम्बन्धित वडाको स्वास्थ्य कार्यालयमार्फत सामग्री वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी पनि दिइएको छ ।
उपप्रमुख महर्जनले स्वास्थ्य सेवा राज्यले नागरिकलाई प्रदान गर्ने सबैभन्दा संवेदनशील सेवामध्ये एक भएको उल्लेख गर्दै महिलाको स्वास्थ्य र नवजात शिशुको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले महिलाको स्वास्थ्यमा गरिएको लगानीलाई परिवार, समाज र राष्ट्रको भविष्यमा गरिएको लगानीका रूपमा व्याख्या गर्नुभयो । मातृत्वलाई केवल व्यक्तिगत जिम्मेवारीको रूपमा हेर्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उहाँले गर्भावस्था, सुत्केरी अवस्था र शिशु स्याहार परिवार, समुदाय र राज्यको साझा जिम्मेवारी भएको बताउनुभयो । नगरपालिकाले आगामी दिनमा पनि मातृ तथा शिशु स्वास्थ्य, पोषण, शिक्षा तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ । कार्यक्रमको अन्त्यमा नगरपालिकाले सबै अभिभावकलाई जन्मदर्ता, नियमित स्वास्थ्य परीक्षण, खोप तथा पोषणसम्बन्धी सेवामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। “प्रत्येक आमा सुरक्षित रहून्, प्रत्येक शिशुले स्वस्थ जीवनको सुरुवात गर्न पाओस् र कुनै पनि परिवार आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ नगरपालिका निरन्तर काम गरिरहेको छ,” नगरपालिकाले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्