Skip to content

चीनमा एक साताभित्रै दोस्रो ठूलो आँधी, २० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ – चीनमा शक्तिशाली आँधी ‘बावी’ प्रवेश गरेको छ । एक साताभित्रै चीनमा आएको यो दोस्रो ठूलो आँधी हो । आँधीबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यसको सम्भावित प्रभाव क्षेत्रमा पर्ने करिब २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चीनको मौसम विभागका अनुसार ‘बावी’ शनिबार साँझ पहिलोपटक ताइझोउ सहरको तटीय क्षेत्रमा पुगेको थियो । त्यसपछि राति वेनझोउ क्षेत्रमा दोस्रोपटक स्थलभागमा प्रवेश गरेको थियो । आँधी करिब एक हजार किलोमिटर क्षेत्रसम्म फैलिएको छ, जुन झन्डै फ्रान्सको आकार बराबर मानिएको छ । चीन पुग्नुअघि ‘बावी’ले जापानका दुर्गम टापुहरूलाई प्रभावित गरेको थियो भने ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो।

यसअघि फिलिपिन्समा यही आँधीका कारण गएको पहिरोमा कम्तीमा १७ जनाको मृत्यु भएको थियो । यद्यपि, अहिले ‘बावी’ क्रमशः कमजोर बन्दै गएको छ । तर, यससँग जोडिएको अत्यधिक आद्रताका कारण भारी वर्षा र बाढीको जोखिम कायमै रहेकाे मौसम विभागले जनाएको छ ।

मौसमविद्का अनुसार आँधी उत्तर–पश्चिम दिशातर्फ अघि बढ्दै जाँदा यसको तीव्रता विस्तारै कम हुँदै जाने अनुमान गरिएको छ । अधिकारीहरूले आइतबार पूर्वी झेजियाङ प्रान्त र उत्तर-पूर्वी फुजियान प्रान्तमा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएका छन् । कुनै पनि गम्भीर अवस्था आउन नदिन मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको प्रशासनले जनाएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार झेजियाङ प्रान्तमा १७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने छिमेकी प्रान्तहरूबाट पनि हजारौं मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । आँधीका कारण झेजियाङमा विद्यालय, कार्यस्थल र बाहिरी गतिविधिहरू स्थगित गरिएका छन् । साथै, करिब ४०० उडान र धेरै रेल सेवाहरू रद्द गरिएका छन् ।

चीनको राजधानी बेइजिङमा पनि सावधानीस्वरूप करिब एक लाख मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ । यसअघि यही साता आएको ‘मायसाक’ आँधीबाट दक्षिणी चीनका धेरै क्षेत्र अझै पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सकेका छैनन् । ‘मायसाक’ले ठूलो जनधनको क्षति पुर्‍याएको थियो, जसमा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्