काठमाडौँ – जापानको दक्षिणपश्चिमी टापु क्युशुको कुमामोतोमा ६.८ म्याग्निच्युडको भूकम्प जाँदा दुई जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । भूकम्पपछि ६० भन्दा बढी पराकम्प गएको र उद्धार कार्य जारी रहेको छ ।भूकम्पका कारण भवनहरू भत्किएको, आगलागी भएको, सडक तथा पूर्वाधारमा ठूलो क्षति पुगेको बीबीसीले जनाएको छ । कुमामोतो शहरस्थित एओन सपिङ मलको दोस्रो तला आंशिक रूपमा भत्किएपछि विस्फोटसमेत भएको थियो । घटनापछि २० देखि ३० कर्मचारी सम्पर्कविहीन भएका छन् ।
स्थानीय अस्पतालहरूमा ९० भन्दा बढी घाइतेको उपचार भइरहेको छ, जसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ । भूकम्पको केन्द्रविन्दु कुमामोतो शहरबाट करिब ४८ किलोमिटर दक्षिणपश्चिममा रहेको उटो तटीय क्षेत्रनजिक रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । प्रारम्भमा सुनामीको चेतावनी जारी गरिए पनि पछि फिर्ता लिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्