काठमाडौँ – नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्दै छ । एमाले प्रचार–प्रसार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ । बैठकमा निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनसँग सम्बन्धित विषयमा छलफल हुने जनाइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन तयार पारिएको प्रतिवेदनका विरुद्धमा रामबहादुर थापा ‘बादल’ले अर्को प्रतिवेदन तयार पारेका छन् ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा १० जेठमा गठन भएको कार्यदलका दुई प्रतिवेदन भोलि प्रस्तुत हुने एमाले स्रोतले बताएको छ ।कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न एमालेले आज पार्टी कार्यालय च्यासलमा कार्यदलको बैठक बोलाएको हाे । २१ फागुन २०८२ को निर्वाचनमा लज्जास्पद रूपमा पराजित भएको भन्दै समीक्षा र पार्टी पुनर्गठनका लागि एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलका सदस्यसचिव शंकर पोखरेलले तयार पारेको ५६ पेजको प्रतिवेदनलाई काउन्टर दिन बादलले ३९ पेजको अलग्गै प्रतिवेदन तयार पारेका हुन् ।



प्रतिक्रिया दिनुहोस्