काठमाडाै ।काठमाडौंबाट छुटेका सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा बसेको सरोकारवाला प्रतिनिधिहरूबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरेर उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्नेसहितका १० बुँदे निर्णय गरेको हो।
छलफलमा प्रहरी, यातायात मजदुर तथा यातायत व्यवसायीको सहभागिता थियो। बैठकले मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथामिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खाने कुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।
देशभरिका विपद्सम्बन्धी एवं बाटोको अवस्था बारेमा आवश्यक सूचना नेपाल प्रहरी प्रधान कार्यालयले नियमित रुपमा आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्ने, यातायातको अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता दिई गन्तव्य स्थलसम्म पुर्याउने सुनिश्चितता गर्ने तथा थप अग्रिम टिकट बुकिङ गर्ने सन्दर्भमा गृह मन्त्रालयको विपद्सम्बन्धी सूचनालाई आधार मानी बाटोको सुनिश्चिता हेरेर मात्र सम्बन्धित रुटको अग्रिम टिकट काट्न यातायात व्यवसायीमा अनुरोध गरिएको छ।
वैकल्पिक मार्गहरुको पहिचान गरी ठूला सवारीसाधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटो छनोट गरी सवारी सञ्चालन गर्ने तथा वैकल्पिक मार्गको जानकारीको सूचना यातायात व्यवस्था विभागको वेवसाइटमार्फत जानकारी गराउने निर्णय पनि भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले जानकारी दिए ।
															
															
															
															
															
															
															
															
															
															
															
															
															
			
			

प्रतिक्रिया दिनुहोस्