काठमाडौं – नेपाल विद्यार्थी संघकी नेतृ गीता गुरुङले नेपाली कांग्रेसमा देखिएको अन्तरद्वन्द्व, असन्तोष र संगठनगत चुनौतीको समाधानका लागि “नियमित महाधिवेशन” नै सुधारको मूल आधार बन्ने बताएकी छन्। उनका अनुसार पार्टीभित्र झगडा, फुट र विग्रहको राजनीति होइन, एकता, समावेशी प्रतिनिधित्वको सुनिश्चितता र स्थानीय तहबाटै सुधारको सन्देश नै अहिलेको अत्यावश्यक आवश्यकता हो।
विद्यार्थी नेतृ गुरुङले भनिन्, “युवा पुस्ता पार्टीको ऊर्जा र प्राणशक्ति हो। त्यसैले कांग्रेसले युवालाई नीतिगत रूपमा समेट्दै पार्टी एकढिक्का बनाउनुपर्छ। वडातहदेखि नै युवा प्रतिनिधित्वको ग्यारेन्टी र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्छ।” उनले अनुभवी पुस्ताको परिपक्वता र नयाँ पुस्ताको जोश, चेतना तथा नवीन सोचको संयोजनबाट मात्र कांग्रेस अटल र मजबुत बन्न सक्ने बताइन्। “यो नै पार्टीलाई जीवन्त, समावेशी र जनमुखी बनाउने बाटो हो,” उनले भनिन् । जेनेरेसन–जी आन्दोलनको मर्मअनुरूप भ्रष्टाचारको जड उखेल्ने, सुशासनको जग बसाउने र कानुनी राज्यको स्थापनामा कांग्रेसले नेतृत्वदायी भूमिका लिनुपर्नेमा पनि उनले जोड दिइन्।
उनले आगामी महाधिवेशनमार्फत युवा प्रतिनिधित्वको ग्यारेन्टी, सदस्यता र निर्वाचन प्रक्रियामा डिजिटल क्रान्ति र वर्तमान राजनीतिक अस्थिरताको अन्त्यका लागि केन्द्रीय समितिले ठोस र दूरदर्शी निर्णय गर्नुपर्ने बताइन्। गुरुङको भनाइमा, “कांग्रेसले यही बाटो अपनाए मात्र जनतामा नयाँ आशा जाग्नेछ र पार्टी पुनः जीवन्त बन्नेछ।” नेतृ गुरुङ नेपाल विद्यार्थी संघको अध्यक्षको दावेदार समेत हुन् । उनले नेपाल विद्यार्थी संघमा केन्द्रीय सदस्य भइ जिम्मेवारी पुरा गरिसकेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्