Skip to content

जेनजी आन्दोलनमा प्रहरी हत्या प्रकरण : पाँच जना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं — जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जका असई मिलन राय, प्रहरी जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङको हत्या भएको थियो। असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ का ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुर चौदण्डीगढी नगरपालिका–१० हडियाका २८ वर्षीय टिकाराम विक पक्राउ परेका थिए। कर्तव्य ज्यान र आपराधिक उपद्रवसम्बन्धी कसुरमा उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो। त्यसैगरी प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका–९ राजवासका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुर थाहा नगरपालिका–७ बतासे घर भएका २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) पनि पुर्पक्षका लागि जेल चलान भएका छन्। सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा कैलाली लम्कीचुहा नगरपालिका–४ का १९ वर्षीय अनुयम भण्डारीलाई पनि कारागार चलान गरिएको छ। भण्डारीले काठमाडौंको क्रिकेट एकेडेमी र भारतमा समेत क्रिकेट तालिम लिएका थिए। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार भण्डारीलगायतका अभियुक्तले आन्दोलनकै दिन सहायक हवल्दार गुरुङमाथि आक्रमण गरी हत्या गरेका थिए। जेनजी आन्दोलनमा तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो। हाल पनि प्रहरी हत्या आरोपमा ७ जना व्यक्ति जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन्।

हिरासतमा रहेका सोम गुरुङ, राजिव गुरुङ, युनिक श्रेष्ठ, सुमित तितुङ, दिपक मगर, अलिश श्रेष्ठ र सौरभ तामाङविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार केही दिनमै उनीहरूमाथि मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्