Skip to content

कांग्रेसमा महाधिवेशन बहस, विशेष र नियमित पक्षधरबीच छुट्टाछुट्टै भेला

काठमाडौँ – नेपाली कांग्रेसभित्र ‘विशेष महाधिवेशन’ र ‘नियमित महाधिवेशन’को बहस तीव्र बन्दै गएको छ । यही विवादलाई थप चर्काउँदै कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले बोलाएको भेलाको प्रत्युत्तरस्वरूप नियमित महाधिवेशन पक्षधरहरूले पनि आज विशेष भेला बोलाएका छन् ।

नियमित महाधिवेशन पक्षधरले आज बिहान साढे ११ बजे गौशालास्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरेका हुन् । उक्त भेलाको संयोजन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णले गरेका छन् । भेला आयोजना गर्नेमा कांग्रेस बागलुङका सभापति जित शेरचन, तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाही, मनहरि श्रेष्ठ, बद्री अर्याल, बिजुला बर्मा, पुष्प शाही, लाओस राई, दीपक भट्टराई, शिव रिमाल, प्रेमिका रानामगर, भुवन भट्ट, विपिन अधिकारी, इन्दु शर्मा लगायत रहेका छन् ।

रञ्जित कर्ण, भुपेन्द्रजंग शाही, लाओस राई, दीपक भट्टराई, बद्री अर्याल, शिव रिमाल र प्रेमिका रानामगर नेता डा. शेखर कोइराला समूहसँग आबद्ध छन् भने जित शेरचन, मनहरि श्रेष्ठ, पुष्प शाहीलगायत नेता संस्थापन पक्षका हुन् । शेरचनले १४औं महाधिवेशनमा नेता कृष्ण सिटौलाको प्यानलबाट बागलुङ सभापति जितेका थिए । कांग्रेसभित्र अहिले नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयमा तर्कवितर्क चर्किँदै गएको छ । संस्थापन र डा. कोइराला समूह नियमित महाधिवेशनको पक्षमा उभिएका छन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा छन् ।

महामन्त्रीद्वयको नेतृत्वमा नेता गुरुराज घिमिरेको संयोजनमा संकलन गरिएको महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर गत असोज २९ गते पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । पार्टी केन्द्रीय समितिको बैठकमा विशेष र नियमित महाधिवेशनका फरक कार्यतालिका प्रस्तुत भए पनि अहिलेसम्म कांग्रेसले यसबारे कुनै अन्तिम निर्णय गरेको छैन । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी नेतृत्व चयनमा यस बहसले निर्णायक भूमिका खेल्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्