काठमाडौँ – नेपाली कांग्रेसभित्र दोस्रो, तेस्रो, चौथो र पाँचौं पुस्ताबीचको आन्तरिक संघर्ष र नेतृत्व हस्तान्तरणको बहस तीव्र बन्दै गएको बेला पार्टीका युवा नेता तेज चन्दले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ‘अभिभावकीय नेतृत्व’ आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य चन्दले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “नेपाली कांग्रेसभित्र दोस्रो, तेस्रो, चौथो र पाँचौं पुस्ताबीचको आन्तरिक संघर्ष र अभ्यासलाई हेर्दा फेरि एकचोटि देशलाई निकास र कांग्रेसलाई एकढिक्का बनाएर आउँदो निर्वाचनमा सहभागी हुन शेरबहादुर देउवा ज्युको अभिभावकीय नेतृत्वको भूमिका अति आवश्यक महसुस हुँदै गएको छ।”
उनका अनुसार अब देउवा न त आगामी आम निर्वाचनमा प्रत्यक्ष उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने मनसायमा छन्, न त समानुपातिक सूचीमा बस्ने तयारीमा। बरु अब उनले पार्टीका मार्गदर्शक तथा ऐतिहासिक अभिभावकको भूमिकामा आफूलाई स्थापित गर्नुपर्ने बेला आएको उनको भनाइ छ। चन्दले आफ्नै स्टाटसमा थप लेखेका छन्, “अहिलेको अवस्था ‘देउवा आऊ, कांग्रेस बचाऊ’ मात्र।” पछिल्ला दिनमा कांग्रेसभित्र देखिएको संगठनात्मक असन्तुलन, नेताबीचको अविश्वास र पुस्तान्तरणको अनिश्चितताबीच युवा नेताहरूबाट देउवाको नेतृत्वमा एकता र स्थिरताको आह्वान आउनु राजनीतिक रूपमा अर्थपूर्ण संकेतको रूपमा लिइएको छ। राजनीतिक विश्लेषकहरूले पनि चन्दको उक्त भनाइलाई देउवालाई पार्टीभित्र ‘संयोजक भूमिका’मा फर्काउने संकेतका रूपमा व्याख्या गरेका छन्। उनीहरूको भनाइमा, कांग्रेसभित्रका नयाँ पुस्ता नेतृत्वमा अगाडि बढ्दै गर्दा पुरानो पुस्ताको मार्गदर्शन अझै अपरिहार्य देखिएको छ।




प्रतिक्रिया दिनुहोस्