Skip to content

सिन्धुपाल्चोकका स्थानीयले मेलम्चीको मुहान बन्द गरेपछि काठमाडौंको पानी वितरण प्रभावित

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी मुहान क्षेत्रका स्थानीयले सुरुङमार्फत काठमाडौं पठाइँदै आएको पानी खोलामा फर्काएपछि आज (बिहीबार) देखि उपत्यकाको खानेपानी वितरण प्रभावित भएको छ। मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले २०८१ असोजमा तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवको रोहबरमा भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै मुहानमै पानी खोलामा फर्काएको हो। समितिका अध्यक्ष पासाङ शेर्पाका अनुसार मेलम्ची र सहायक रिबर्मा खोलाको पानी बन्द गरिएको छ।

मुहान बन्द भएपछि काठमाडौं उपत्यकामा दैनिक पठाइँदै आएको करिब २० करोड लिटर पानी अब अवरुद्ध भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाश राई का अनुसार आजदेखि काठमाडौंको आन्तरिक स्रोतबाट मात्र पानी वितरण गर्न सकिनेछ। उनले भने, “पानीको अभाव हुन्छ, अहिले जसरी वितरण गर्न सक्दैनौं।” सुन्दरीजल प्रशोधन केन्द्रबाट थोक वितरण केन्द्रहरूमा पठाइने पानी पूर्णरूपमा बन्द हुने केयूकेएलले जनाएको छ। यसले उपत्यकाको नियमित आपूर्तिमा ठूलो असर पार्नेछ।

२०७८ असारमा आएको बाढीपहिराले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजन क्षति गरे पनि आयोजनाले स्थानीय समस्याप्रति बेवास्ता गरेको स्थानीय राजनीतिक अगुवा राजकुमार भण्डारी ले बताए। उनका अनुसार “सरकारले बाढीपहिरोपीडितको पुनर्वास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा कुनै चासो नदेखाएकै कारण स्थानीय बाध्य भएर यस्तो कदम चाल्नुपरेको हो।” मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दास ले स्थानीयले एक्स्काभेटरको सहयोगमा पानी खोलातिर फर्काएको पुष्टि गरेका छन्।

उनका अनुसार मेलम्चीबाहेकका खहरे खोलाबाट सुरुङमा पठाउन तयार गरिएको संरचनाको पाइप फुटाइएको छ र मर्मतसम्भारमा खटिएका कामदारलाई जबर्जस्ती हटाइएको छ। संघर्ष समितिले मेलम्चीकै एक्स्काभेटर प्रयोग गरेर काम गरेको र चालक बाहिरबाट ल्याइएको बताइएको छ। २०७८ को बाढीले क्षति पुर्‍याएको कारण सुरुङको मुखमा हाल अस्थायी संरचना मात्र रहेको छ।

स्थानीयको मागअनुसार तत्कालीन मन्त्री यादवको रोहबरमा २०८१ असोज २१ गते हेलम्बुमा भएको सम्झौतामा बाढीपीडितहरूको पुन:स्थापना, सडक–पुल निर्माण, तथा पानीको महसुलको निश्चित प्रतिशत रकम स्थानीय विकासमा लगाउने सहमति गरिएको थियो। तर सो सम्झौता कार्यान्वयन नहुँदा असन्तुष्टि बढ्दै गएको संघर्ष समितिको भनाइ छ। यसबीच, मेलम्ची खानेपानी विकास समितिको मुख्य कार्यालयमा ६ दिनदेखि ताला लागेको छ। सिन्धुपाल्चोक र काभ्रेका चार सरोकार समितिले गत १६ गतेदेखि कार्यकारी निर्देशकको कार्यकक्षमा ताला लगाएका हुन्। तत्कालीन कार्यकारी निर्देशक आफ्नो कार्यालय प्रवेश गर्न पाएका छैनन् भने आयोजनाका प्रशासनिक कामकाज ठप्प छन्। खानेपानी मन्त्रालयले आज दिउँसो सरोकार समितिसँग सिंहदरबारमा वार्ता तय गरेको छ। मेलम्ची खानेपानी विकास समितिले वार्ताका लागि समितिहरूलाई आधिकारिक पत्र पठाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्