Skip to content

निजी क्षेत्रलाई प्रधानमन्त्री सुशीला कार्कीको आह्वान : ‘डर होइन, आत्मविश्वासका साथ अघि बढौं’

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले देशको अर्थतन्त्रलाई सुदृढ बनाउने यात्रामा निजी क्षेत्रलाई दृढता र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी छिन्। शुक्रबार सम्पन्न ‘राष्ट्रिय आर्थिक बहस २.०’ का सहभागी उद्योगी, व्यवसायी, किसान र युवालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिलेको समय डराउने वा प्रतीक्षा गर्ने नभई सहकार्य र कर्म गर्ने समय भएको बताइन्। “म सबै उद्यमी, किसान र युवाहरूलाई आह्वान गर्न चाहन्छु— डराउने होइन, आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्,” उनले भनिन्, “यो आशंका र भय पाल्ने बेला होइन, हातेमालो गर्ने बेला हो।”

प्रधानमन्त्री कार्कीले हालका अध्ययन र सूचकहरूले नेपालको आर्थिक वृद्धिदर वृद्धि र महँगी घट्ने सकारात्मक संकेत दिएको बताउँदै सरकारले समग्र अर्थतन्त्र सही दिशामा अघि बढाएको दाबी गरिन्। “हाम्रो प्रयास सही दिशामा छ भन्ने तथ्यले उत्साह दिन्छ। हामी सबै मिलेर हिजोभन्दा राम्रो भोलि बनाउन सक्छौं,” उनले जोड दिइन्। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले लोकतान्त्रिक प्रक्रियालाई दिगो बनाउने र नागरिकमा आशा जगाउने वातावरण सृजना सरकारको प्राथमिकता रहेको उल्लेख गरिन्। उनले भनिन्, “निर्वाचनमार्फत देशलाई दिगो लोकतान्त्रिक मार्गमा अघि बढाउने, नागरिकलाई यहीँ नै इज्जतपूर्वक जीविकोपार्जन गर्न सकिने विश्वास दिलाउने हाम्रो उद्देश्य हो। यो अभियान सफल पार्न निजी क्षेत्रको भूमिका पनि अत्यन्तै महत्वपूर्ण हुनेछ।” प्रधानमन्त्री कार्कीको सम्बोधनले सरकार र निजी क्षेत्रबीच आपसी सहकार्य र विश्वासका नयाँ सम्भावना खुलाउने सन्देश दिएको सहभागीहरूले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्